मध्यपुर थिमि ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका’ घोषणा

0

 

भक्तपुर । मध्यपुर थिमि नगरपालिका ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका’ घोषणा भएको छ।

एक विशेष समारोहका बीच नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकालाई औपचारिक रूपमा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगरपालिका’ घोषणा गर्नुभएको हो।

नगरपालिकाले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको तथा सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क नलिइएको सुनिश्चित गरेपछि उक्त घोषणा गरिएको हो।

नगरपालिकाले विद्यालय उमेरका सबै बालबालिकाले शिक्षा प्राप्त गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने प्रतिबद्धतासहित अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ।

अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्ने उद्देश्यले नगरभित्रका सामुदायिक विद्यालय तथा वडा कार्यालयहरूको सहकार्यमा घरदैलो सर्वेक्षण सञ्चालन गरिएको थियो। वडा नं. १ देखि ९ सम्मका कुल १० हजार ८९४ घरधुरीमा गरिएको सर्वेक्षणका क्रममा विद्यालय बाहिर रहेका २२ जना बालबालिकालाई विद्यालयमा भर्ना गरिएको नगरपालिकाले जनाएको छ।

घोषणा कार्यक्रममा शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशका निमित्त महानिर्देशक गोपालप्रसाद कडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नगरभित्र कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्रप्रसाद भट्टले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर प्रमुख श्रेष्ठको अध्यक्षता तथा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगर प्रमुख श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो।

नगरपालिकाले यसअघि वडा नं. ८ लाई २०८३ वैशाख २५ गते, वडा नं. ५ लाई जेठ ८ गते, वडा नं. ७ लाई जेठ १८ गते, वडा नं. १, २ र ३ लाई संयुक्त रूपमा जेठ २१ गते, वडा नं. ४ लाई जेठ २६ गते, वडा नं. ९ लाई जेठ २८ गते तथा वडा नं. ६ लाई जेठ २९ गते ‘अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा’ घोषणा गरिसकेको थियो।

सोही अवसरमा नगरपालिका स्तरीय ‘उद्यमशीलता महोत्सव–२०८३’ अन्तर्गत आयोजित उद्यमशीलता प्रतियोगिताका विजेता विद्यालयहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

प्रतियोगितामा गणेश माध्यमिक विद्यालय, नगदेश प्रथम, बोडे माध्यमिक विद्यालय द्वितीय तथा बालप्रेमी माध्यमिक विद्यालय, थिमि तृतीय भएका थिए। विजेता विद्यालयहरूलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो।

विद्यार्थीहरूलाई कामको संसार र उद्यमशीलताको अवधारणासँग परिचित गराउने उद्देश्यले आयोजित प्रतियोगितामा गणेश माध्यमिक विद्यालय (नगदेश), आदर्श माध्यमिक विद्यालय (सानोठिमी), आदर्श माध्यमिक विद्यालय (लायकु), बोडे माध्यमिक विद्यालय (बोडे), बालप्रेमी माध्यमिक विद्यालय (थिमि) तथा जनक सिद्धिकाली माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए।