सगुन बस्नेत
सिन्धुपाल्चोक,
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ मा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। मेलम्ची नगरपालिकाको सहयोग तथा नेत्रज्योति मिडिया हाउस प्रालिको आयोजनामा मेलम्चीस्थित होटल हेरिटेजमा तालिम सञ्चालन गरिएको हो।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी उपाध्यक्ष कान्ती न्यौपानेको विशेष आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न वडाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्दै महासचिव दाहालले पत्रकारिता मर्यादित र जिम्मेवार पेशा भएको उल्लेख गर्दै यसको सही प्रयोग आवश्यक रहेको बताए। उनले पत्रकारिता केवल समाचार लेख्ने काम मात्र नभई समाजप्रति उत्तरदायी भई सत्य र तथ्य प्रस्तुत गर्ने दायित्वसमेत भएको धारणा राखे।
“यस्ता तालिमले नयाँ पुस्तामा सही सोच, सीप र जिम्मेवारीबोध विकास गर्न मद्दत पुर्याउँछन्,” उनले भने।
नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्रबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष तथा प्रेस युनियन नेपाल बागमती प्रदेश अध्यक्ष युवराज पुरीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पुरीले अध्ययन पूरा गर्नासाथ विदेश जाने प्रवृत्तिभन्दा स्वदेशमै अवसर सिर्जना गर्ने सोच आवश्यक रहेको बताए। पत्रकारिता क्षेत्रमा रुचि राख्ने युवायुवतीका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ थियो।
विशेष अतिथि कान्ती न्यौपानेले पत्रकारिता, सञ्चारको भूमिका तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे सहभागीहरूलाई जानकारी गराएकी थिइन्।
सभापतिको मन्तव्य राख्दै नेत्रबहादुर बस्नेतले डिजिटल युगमा सूचना छिटो फैलिने भए पनि सही र विश्वसनीय सूचना प्रवाह अझै महत्वपूर्ण रहेको बताए। उनले विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै पत्रकारितासम्बन्धी ज्ञान प्रदान गर्न सके भविष्यमा सक्षम सञ्चारकर्मी उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे।
बस्नेतले तालिममा सहभागीमध्ये इच्छुक र योग्य व्यक्तिलाई मिडिया हाउसमा रोजगारको अवसरसमेत प्रदान गरिने जानकारी दिए।
आयोजकका अनुसार माध्यमिक तहमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको सहभागिता रहेको उक्त तालिमको मुख्य उद्देश्य पत्रकारिताको आधारभूत ज्ञान, समाचार लेखन सीप, सञ्चार नैतिकता तथा जिम्मेवार सूचना प्रवाहसम्बन्धी व्यावहारिक क्षमता विकास गर्नु हो।
कार्यक्रममार्फत युवापुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्दै सचेत, जिम्मेवार तथा सक्रिय नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा समाचार लेखन, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा डिजिटल मिडियाको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।
तालिममा रामप्रसाद दाहाल, कान्ती न्यौपाने, युवराज पुरी, निशा देउजा तथा आइसिन तामाङ प्रशिक्षकका रूपमा रहेका छन्।
स्थानीय समाजसेवी सागर श्रेष्ठले यस्ता तालिममार्फत युवाहरूलाई सीप विकाससँगै रोजगारको अवसर प्रदान गर्ने प्रयास प्रशंसनीय रहेको बताए।







































