विद्यार्थीलाई संस्कृति सिकाउँदै मिनर्वा स्कुलले मनायो ल्होछार 

154

भक्तपुर । भक्तपुरमा नै पहिलो पटक विद्यालयले विद्यार्थी तथा अभिभावकका लागि तामाङहरूको महान् चाड ल्होछार प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।

भक्तपुरको मिनर्वा ईङ्गलिस स्कुलले मञ्जुश्री सम्मत २८६१ को अवसरमा तामाङहरूको भेष भूषा खाना तथा संस्कारहरूको विषयमा विद्यार्थी अभिभावकहरूलाई जानकारी दिने उद्देश्यका साथ ल्होछार पर्वको आयोजना गरेको हो ।

नेवार समुदायमा सञ्चालित विद्यालयमा तामाङहरूको पर्व उनीहरूको भेष भूषा तथा खाद्य सामग्रीहरूको विषयमा विद्यार्थीलाई जानकारी गराउने तथा उनीहरूको जन्म देखि मृत्यु सम्मको संस्कारमा के के प्रयोग हुन्छ कस्ता पूजा आजा हुने गरेको छ भन्ने विषयमा जानकारी गराउनको लागि विद्यालयमा ल्होसार पर्व मनाइएको विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवालले जानकारी दिनुभयो ।

नेपालमा मनाइने सबै भन्दा पुरानो सम्मतहरूमा मञ्जुश्री सम्मत पनि पर्ने भएका कारण यसको विषयमा पनि विद्यार्थीलाई जानकारी गराउने उद्देश्यका साथ विद्यालयले ल्होसार पर्वको आयोजना गरेको उहाँले जानकारी दिनुभएको थियो ।

प्रिन्सिपल दुवालका अनुसार कार्यक्रममा विभिन्न लामा गुरुहरूले पाठ पूजा गर्नु भएको थियो भने तामाङ संस्कारका विभिन्न झाँकी तथा नाच तथा झाँकीहरूको प्रदर्शनी गरेको थियो ।

विद्यालयले तामाङ पोसाकमा सजिएका विद्यार्थी तथा अभिभावहरूले विद्यालय नजिकको स्थानमा पर्व तथा परम्पराको विषयमा प्रदर्शनी समेत गरेको थियो ।

विद्यालयमा एक दिने आयोजना भएको उक्त कार्यक्रममा तामाङ समुदायले प्रयोग गर्ने विभिन्न वस्तुहरूको प्रदर्शनी तथा खानाहरूको प्रदर्शनी समेत गरेको थियो ।