विपद् जोखिम घटाउन जापानी अनुदान

298

काठमाडौँ । जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरणका लागि ४ करोड ३९ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

जापानको अन्तराष्ट्रिय गैरसरकारी संस्था साप्ला नीर मार्फत प्राप्त हुने अनुदानबाट ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसकारी संस्थाले उक्त परियोजना कार्यान्वयन गर्नेछ ।

जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र साप्ला नीरका नेपाल प्रतिनिधि हिरोमी कात्सुइले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

पहिरोको जोखिम रहेको लोथर र बाढीको खतरा रहेको मादी नगरपालिका क्षेत्रमा सघनरूपमा परियोजना कार्यान्वयन गरिने जापानी राजद्तावासले जनाएको छ ।