भक्तपुर । श्रीकृष्ण माध्यमिक विद्यालय खरिपाटीले आफ्नो ५९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरको प्रमुख आतिथ्ययतामा विद्यालयले आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री थापाले विद्यालय सुधारका लागि अभिभावकदेखि स्थानीय तह प्रदेश अनि सङ्घले हातमा हात दिएर लाग्नुपर्ने बताउनुभएको थियो ।
उहाँले सामुदायिक विद्यालय सुधार नभएसम्म शिक्षा महँगो हुने समेत बताउनुभएको थियो ।
उहाँले आफू स्वास्थ्य मन्त्री भएसँगै स्वास्थ्यमा सुधारका बाँकी रहेका धेरै काम थालनी गरेको समेत बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले विद्यालय सुधार गर्न चाहेमा शिक्षकहरूले जस्तो सुकै विद्यालयलाई पनि सुधार गर्न सक्ने उदाहरण स्वरूप पहिलाको कन्या मा.बिको उदाहरण दिनुभएको थियो । यस्तै उहाँले शिक्षा सेवा आयोगमा उत्कृष्ट अङ्क लिएर प्रतिस्पर्धा गरेर मात्र आउनुभएका शिक्षकले पढाउने विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर कसरी कमजोर भएको छ यो आफैमा रहस्य भएको उहाँले बताउनुभयो । उहाँले शिक्षक कमजोर भन्दा पनि हाम्रो मानसिकता कमजोर भएका कारण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर भएको उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, वडा नम्बर ७ का वडा अध्यक्ष श्याम ना यजु, वडा नम्बर ८ का वडा अध्यक्ष जनक खत्री लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयबाट अध्ययन गरेर जानुभएका पूर्व विद्यार्थीहरू जो हाल नेपाल सरकारका विभिन्न पदमा रहनुभएका, जनप्रतिनिधि तथा विभिन्न सेवामा रहनुभएकाहरुलाई सम्मान समेत गरिएको थियो ।विद्यालयले निरन्तर २५ वर्ष सम्म शिक्षण सेवा प्रदान गर्दै आउनुभएका शिक्षक तथा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन अध्यापन गराउने शिक्षकहरूलाई पनि सम्मान गरेको थियो ।
यस्तै कार्यक्रममा कक्षामा प्रथम द्दितिय तथा तृतीय हुने सम्पूर्ण विद्यार्थीहरूलाई पुरस्कार प्रदान तथा विभिन्न प्रतियोगिता तथा कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो ।








































