न्युयोर्क । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ मा विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भइरहेको जनाएको छ। द्वन्द्वका कारण बालबालिका तथा आम नागरिकहरू घर, कार्यस्थल, विद्यालय र सडकजस्ता स्थानमा समेत असुरक्षित बन्दै गएको उल्लेख गरिएको छ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गत मानवीय सहायता समन्वय कार्यालय (OCHA) का क्राइसिस रेस्पोन्स डिभिजन निर्देशक एडम वोसोर्नु ले सुरक्षा परिषद्लाई जानकारी दिँदै विभिन्न क्षेत्रमा प्रयोग गरिएका विस्फोटक हतियारले मानव जीवनसँगै पावर ग्रिड, खानेपानी सञ्जाल, विद्यालय र अस्पतालजस्ता अत्यावश्यक संरचनामा समेत ठूलो क्षति पुर्याएको बताउनुभयो।
उहाँका अनुसार नागरिकहरू प्रत्यक्ष लक्ष्य नभए पनि सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो मारमा परिरहेका छन्। संयुक्त राष्ट्रसङ्घले गत वर्ष विश्वका १८ वटा द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्य सेवामाथि एक हजार ३५० भन्दा बढी आक्रमण रेकर्ड गरिएको जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले सन् २०२५ मा द्वन्द्वका कारण बढ्दो भोकमरी संकटप्रति समेत चिन्ता व्यक्त गरेका छन्। हाल विश्वभर करिब १४ करोड ७० लाख मानिस तीव्र खाद्य असुरक्षाबाट प्रभावित रहेको उल्लेख गरिएको छ।
पछिल्लो समय विभिन्न क्षेत्रमा अनिकाल तथा खाद्य असुरक्षाका घटना पुष्टि भइरहेका छन्। खाद्यान्न अभावसँगै द्वन्द्वरत पक्षले मानवीय सहायता वितरणमा अवरोध सिर्जना गर्दा संकट झन् गम्भीर बन्दै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।











































