ताथलीमा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुँदै

0

भक्तपुर । स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका वडा नं. ९ ले “परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जेठ १६ गते शनिबार फैढोकामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक रविन बासुकला, वडा सदस्य कमला गिरि, वडा अध्यक्ष गणेश त्यात तथा वडा सचिव सपना श्रेष्ठले स्थानीय मौलिक बाजा संस्कृतिको संरक्षणमा प्रतियोगिता महत्वपूर्ण हुने बताएका छन् ।

कार्यक्रम संयोजक रविन बासुकलाले आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण परम्परागत बाँसुरी बाजा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले नयाँ पुस्तालाई मौलिक बाजा संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

वडा सदस्य कमला गिरिले स्थानीय कला, संस्कृति र सांगीतिक परम्परा समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले सांस्कृतिक जागरण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

वडा अध्यक्ष गणेश त्यातले ताथली तथा आसपास क्षेत्रमा प्राचीनकालदेखि विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यमा बाँसुरी बाजाको विशेष महत्व रहेको उल्लेख गर्दै वडा कार्यालयले संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरेको बताए । उनले प्रतियोगितालाई भव्य तथा व्यवस्थित बनाउन आर्थिक वर्ष २०८२/०८३ मा वडा कार्यालयबाट रु. ५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

वडा सचिव सपना श्रेष्ठले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै सम्पूर्ण सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको बताइन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई प्रथम पुरस्कारस्वरूप रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार तथा सान्त्वना पुरस्कारस्वरूप रु. ५ हजार प्रदान गरिनेछ । सबै पुरस्कार ट्रफी तथा प्रमाणपत्रसहित प्रदान गरिने आयोजकले जनाएको छ ।

सहभागी टोली दर्ताका लागि रु. १०० शुल्क तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति जेठ १३ गतेसम्म कायम गरिएको छ । बढीमा २० टोलीलाई मात्र सहभागिता गराइने र प्राथमिकता प्रि-बुकिङ तथा फाराम दर्ताका आधारमा दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक समूहमा कम्तीमा ९ जना र बढीमा १५ जना सहभागी हुनुपर्नेछ । कम्तीमा ७ जना बाँसुरीवादक अनिवार्य रहने तथा प्रत्येक समूहमा १ जना व्यवस्थापक वा गुरु हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा मौलिक तथा परम्परागत धुन मात्रै प्रस्तुत गर्न पाइनेछ भने मिक्स धुन निषेध गरिएको छ ।

प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा स्थानीय मौलिक धुन प्रस्तुत गरिनेछ भने दोस्रो चरणमा गोलाप्रथाबाट छनोट गरिएको धुन बजाइनेछ । प्रत्येक टोलीलाई १० मिनेट समय प्रदान गरिनेछ । कार्यक्रममा मौलिक पोशाक अनिवार्य गरिएको छ भने मञ्चमा नृत्य प्रस्तुत गर्न नपाइने व्यवस्था गरिएको छ ।

निर्णायक मण्डलले प्रस्तुति, वाद्यवादन, सुर–लय तथा समय व्यवस्थापनका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्नेछ ।

आयोजकले स्थानीय मौलिक कला, बाजा संस्कृति तथा रैथाने पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ ।