काठमाडौं : सिंहदरबार छेउमा कुकरमा तार जोडेर बेबारिसे छोडेको पाइएको छ।
बुधबार राति करिब ९ बजेतिर झोलामा राखिएको शंकास्पद वस्तु भेटिएको थियो। सिंहदरको पर्खालसँगै जोडिएको बिजुली तार अड्याउने खम्बाको छेउमा कालो झोलामा तार जोडिएको कुकर राखेको पाइएको थियो।
कालो झोला बाहिर तार निक्लिएको प्रहरीले बताएको छ। उक्त शंकास्पद वस्तु बम हुनसक्ने भन्दै नेपाली सेनाको बम डिस्पोजल टोली आएको थियो। उक्त वस्तुलाई डिस्पोज गर्न नेपाली सेनाको टोलीलाई करिब २ घण्टा लागेको थियो।
नेपाली सेनाले राति सवा ११ बजे उक्त वस्तुलाई डिस्पोज गरेको थियो।

सुरक्षार्थ खटिएका प्रहरीका अनुसार खाली कुकरमा तार जोडेर झोलामा राखिएको थियो। प्रहरीले तर्साउनका लागि उक्त वस्तु राखिएको हुनसक्ने आशंका गरेको छ। विस्तृत विवरण दिन भने प्रहरी अधिकारीहरू र नेपाली सेनाका अधिकारीहरूले मानेनन्। भोलि मात्रै उक्त वस्तुको बारेमा जानकारी दिने प्रहरी अधिकारीहरूले बताए।
मंगलबारमात्रै प्रतिबन्धमा परेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको र त्यसको पूर्वार्धमा तर्साउनका लागि उक्त वस्तु राखेको हुनसक्ने सुरक्षा स्रोतले जनाएको छ। प्रहरीले भने सुरक्षाव्यवस्था चुस्त रहेकाले चिन्ता नलिन आग्रह गरेको छ।







































