Home समाचार स्थानीयको विरोधपछि थिमीमा सडक बिस्तार गर्न गएको टोली फर्कियो
भक्तपुर । मध्यपुर थिमि–४ शंखधरचोकदेखी दधिकोट जाने हनुमन्ते खोलाको पुलसम्मको सडक बिस्तारमा गर्न गएको मध्यपुर थिमि नगरपालिकाको टोली स्थानीयको अवरोधपछि फर्किएको छ ।
स्थानीयले नक्सा पास भएको घरको संरचना समेत नगरपालिकाले जबरजस्ती भत्काउन आएको भन्दै बुधवार अवरोध गरेपछि नगरपालिकाको टोली सडक बिस्तारको कार्य स्थगित गरी फर्केको हो ।
मध्यपुर थिमि नपाले सो सडकलाई ६ मिटरको मापदण्ड निर्धारण गरेर सडक बिस्तार गरी पेटी निर्माण गर्न उपभोक्ता समिति गठन गरी कार्य अघि बढाएको थियो । नपाले एक साता अघि नै स्थानीयलाई सूचना जारी गरी सडकको रेखांकन समेत गरेको थियो । रेखांकनका बारेमा स्थानीयलाई जानकारी नदिएको र रेखांकनपछि पनि स्थानीयसँग छलफल नगरेको भन्दै विरोध गरेपछि नपाले बुधवारका लागि बिस्तारको कार्य स्थगित गरेर टोली फर्केको हो ।
सडक बिस्तारमा अवरोध भएपछि स्थानीय वडाअध्यक्ष कुमार श्रेष्ठसहित वडा सदस्य, स्थानीय राजनैतिक दलका प्रतिनिधिसहितले स्थानीयलाई सम्झाई बुझाई गरेपनि सहमति हुन सकेन । स्थानीयले तत्काल बिस्तार गर्न नदिने अडान लिएका थिए ।
स्थानीयको अवरोधपछि सो क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । केही बेर स्थित तनावपूर्ण समेत बनेको थियो। सो बाटो भएर जाने हनुमन्ते खोलामा शनिवार मात्र ११ मिटर चौडाको पुल शिलान्यास गरिएको थियो । नेपाल सरकारले सो सडकको मापदण्ड ११ मिटर ताकेको छ ।
स्थानीय गोविन्दकृष्ण श्रेष्ठले तत्कालिन गाउँ पञ्चायतबाट २०३९ सालमा नक्सा पास गरी घर निर्माण गरेको भन्दै घरको नक्सा समेत देखाएर भन्नुभयो, ‘नक्सामा नै मेरो घरको पेटीमा चार सिँढी स्पष्ट छ, यति हुँदा हुँदै नपाले जबरजस्ती मेरो घरको पेटी भत्काउन आउनु कहाँको न्याय हो?’ उहाँले कुनैपनि हालतमा पेटी भत्काउन नदिने बताउनुभयो ।
सो सडक पहिला दुई अढाई मिटरको भएको सो अनुसार नगरपालिका स्थापना हुनुभन्दा अघि नै घर निर्माण भएकोले नपाले पछिल्लो मापदण्ड लागु गर्न नहुने अर्का स्थानीय रामहरी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पनि विकास विरोधी होईनौं, तर विकासको नाममा उठीबास गर्न पाईंदैन । नरम गरम मिलाएर हामीलाई पनि मर्का नपर्ने गरी सडक बिस्तार गरे मञ्जुर छौं भन्दा भन्दै सहमति नहुँदैं नपाको टोली आएकोले विरोधमा उत्रनु परेको हो,’ उहाँले भन्नुभयो ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरस्तरिय योजना अन्तर्गत सो सडक बिस्तार योजना उपभोक्ता समिति मार्फत गरेको र नपाको मापदण्ड अनुसार ६ मिटरको रेखांकन एक हप्ता अघि नै गरिसकेको बताउनुभयो । उहाँले नपाले सूचना जारी गरेपनि स्थानीयले अटेर गरेकाले आज डोजरसहित सडक बिस्तार गर्न गएको बताउँदैं फुटपाथमा पसल राख्ने केहीले अवरोध गरेपनि भोलीदेखी पुनः सुचारु हुने जानकारी दिनुभयो । लक्ष्मी गारु
Related