मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–३ घर भई हाल हेटौँडा–४ मा डेरा गरी बस्ने २३ वर्षीय रोहन कुशवार र इटहरी उपमहानगरपालिका–१० घर भई हाल हेटौँडा–४ मै डेरा गरी बस्ने २४ वर्षीया सुमित्रा राई रहेका छन् । शङ्कास्पद रूपमा पैदल हिँडिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा कुशवारको साथबाट १४० मिलीग्राम लागुऔषध खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मिले जानकारी दिनुभयो ।
कुशवार र राईलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
यस्तै, तीन ग्राम २८० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित मकवानपुरको बकैया गाउँपालिका–७ बाट चार जना पक्राउ परेका छन् । बकैया गाउँपालिका–७ का विजय भोलनको घरमा शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा ३४ वर्षीय विजय भोलन, २३ वर्षीय विशाल लोप्चन, बकैया–३ का ३४ वर्षीय सञ्जीव लामा र जितपुर सिमरा उपमहानगरपालिका–१६ का १९ वर्षीय विजय मोक्तान पक्राउ परेका हुन् ।
चारै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































