भक्तपुर । दसैँ पर्वलाई लक्षित गर्दै पर्यटकीय गन्तव्य नगरकोटमा ‘चङ्गा चेट फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। मण्डनदेउपुर नगरपालिका–२, नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिट होटलले असोज २८ गतेदेखि ३१ गतेसम्म चारदिने महोत्सव आयोजना गर्न लागेको हो।
होटलका अपरेसन म्यानेजर सुरेन्द्र अधिकारीका अनुसार महोत्सवमा सहभागी हुन प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। महोत्सवमा सहभागीहरूले चङ्गा उडाउने, माटाका भाँडा बनाउने, अनुहारमा चित्र बनाउने तथा विभिन्न सांगीतिक कार्यक्रममा रमाउने अवसर पाउनेछन्।
दसैँको सांस्कृतिक र मनोरञ्जनात्मक माहोललाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको होटलले जनाएको छ। महोत्सवमा सहभागी हुनेहरूका लागि निर्धारित प्याकेजअन्तर्गत दसैँ विशेष खानासमेत उपलब्ध गराइने अपरेसन म्यानेजर अधिकारीले जानकारी दिए।
दसैँको बिदामा परिवार तथा साथीभाइसँग नगरकोट पुगेर मनोरञ्जन गर्न चाहनेहरूलाई लक्षित गर्दै होटलले महोत्सव अवधिभर काठमाडौँको नयाँ बानेश्वरदेखि नगरकोटसम्म यातायातको व्यवस्थासमेत गर्ने जनाएको छ।
प्राकृतिक सौन्दर्य, मनोरम हिमशृङ्खला र शान्त वातावरणका कारण लोकप्रिय नगरकोटमा आयोजना हुन लागेको यस महोत्सवले दसैँको उत्सवलाई थप उल्लासमय बनाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।







































