नेपालमा लागूऔषध ओसारपसार बढ्दो

286

 

भक्तपुर

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठूले राईले नेपालमा लागूऔषधको ओसारपसार बर्सेनि बढिरहेको बताएका छन् ।

लागूपदार्थ दुरुपयोग तथा ओसारप्रसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा लागूऔषध व्यूरो प्रमुखसमेत रहेका डीआईजी राईले अघिल्लो तीन वर्षको तथ्यांक प्रस्तुत गर्दै नेपालमा लागूऔषध ओसारपसार बढ्दो क्रममा रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार सन् २०१५ मा दुई हजार ६ सय ५६ जनामात्रै लागूपदार्थ ओसारसार एवं बेचविखन आरोपमा पक्राउ परेका थिए । तर सन् २०१६ मा यो संख्या बढेर तीन हजार ६ सय ९६ र सन् २०१७ मा तीन हजार नौ सय ४१ पुगेको उनको भनाइ थियो ।

‘लागूऔषध ओसारपसार तथा बेचबिखन बढ्दो छ । यो हाम्रो तथ्यांकले पनि देखाउँछ । जुन भयावह छ’, डीआईजी राईले भने, ‘तर यो तथ्यांक हाम्रो सक्रियता बढेको पनि प्रमाण हो । त्यसैले लागूऔषध नियन्त्रण हाम्रो क्षमताभन्दा बाहिर छैन ।’

औषधि व्यवस्था विभाग र नेपाल औषधि व्यवसायी संघ बागमती शाखाद्वारा आयोजित एकदिने लागू तथा मनोद्विपक औषधिसम्बन्धी कार्यशालामा उनले प्रहरीका हरेक एकाइमा लागूऔषधसम्बन्धी मुद्दा दर्ता हुने जानकारी दिए ।

भक्तपुरका औषधि व्यवसायीहरुलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद दवाडीले लागूऔषधको ओसारपसार र दुरुपयोग बढ्दा युवाहरु बिग्रिरहेको र त्यसको देशको आर्थिक विकास प्रभावित भएको बताए ।

उनले प्राकृतिक लागूऔषधभन्दा फर्मासिटिकल लागूऔषधको दुरुपयोग बढेकाले यसको नियन्त्रणमा औषधि व्यवसायीहरुको भूमिका र दायित्व बढी हुने स्पष्ट पारे ।

लागूऔषध दुरुपयोग गर्ने औषधि व्यवसायीहरुलाई कानुनी कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको सहसचिव दवाडीको भनाइ थियो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले लागूपदार्थ दुरुपयोग तथा ओसारप्रसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सरकारले सप्ताहव्यापी कार्यक्रम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ बागमती शाखाका अध्यक्ष निरञ्जन रिजाल, भक्तपुरका संयोजक दिलकुमार दुवाल, सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललगायतले लागूऔषधको दुरुपयोग तथा ओसारपसार नियन्त्रण गर्न सबै एकजुट भई लाग्नुपर्ने धारणा राखे ।

कार्यशालामा विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी र लागूऔषध नियन्त्रण व्युरोका प्रहरी निरीक्षक गौतम थापाले सहजीकरण गरेका थिए ।