Home समाचार नेपाल संवत् ११४७ को स्वागतमा ताथलीमा न्हुँदया भिंतुना र्याली हुँदै

नेपाल संवत् ११४७ को स्वागतमा ताथलीमा न्हुँदया भिंतुना र्याली हुँदै

19

भक्तपुर । नेपाली मौलिक संवत् नेपाल संवत्को नयाँ वर्ष ११४७ लाई स्वागत गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा आगामी कार्तिक २४ गते न्हुँदया भिंतुना र्याली आयोजना हुने भएको छ।

मौलिक कला, संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रगति युवा समाज, ताथलीले विगत एक दशकदेखि निरन्तर आयोजना गर्दै आएको र्यालीलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो।

समाजको आयोजनामा २०८३ साल कार्तिक २४ गते मंगलबार बिहान ७ बजे र्याली सञ्चालन हुनेछ। म्हपूजा तथा गोवर्धन पूजाको अवसरमा आयोजना हुने र्यालीमा सहभागी भई नेपाल संवत्को नयाँ वर्षलाई सामूहिक रूपमा स्वागत गर्न आयोजकले स्थानीय बासिन्दा, संस्कृतिप्रेमी तथा सम्पूर्ण शुभेच्छुकलाई आग्रह गरेको छ।

कार्यक्रम संयोजक हरिसुन्दर गोसाइँका अनुसार र्याली चाँगुनारायण नगरपालिका–९ स्थित बनमाला टोलको गणेश मन्दिरबाट सुरु हुनेछ। र्याली खर्क पुल, गोठाले चौर र पण्डित पँधेरो हुँदै फैढोका राममन्दिर पुगेर समापन हुनेछ।

आयोजक समाजका अध्यक्ष हरिसुन्दर छुकांका अनुसार नेपाल संवत् नेवार समुदायको सांस्कृतिक पहिचानसँगै नेपालको मौलिक इतिहास र सभ्यतासँग जोडिएको महत्त्वपूर्ण सम्पदा हो। नयाँ वर्षका अवसरमा आयोजना गरिने न्हुँदया भिंतुना र्यालीले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

उनले यस्ता सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानसँग जोड्न सहयोग पुग्ने बताउँदै र्यालीमा उत्साहजनक सहभागिताका लागि सबैलाई आग्रह गरेका छन्।

२०६८ सालमा स्थापित प्रगति युवा समाजले स्थानीयस्तरमा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। नेपाल संवत्को नयाँ वर्षलाई सामूहिक उत्सवका रूपमा मनाउने उद्देश्यले सुरु गरिएको यस र्यालीले ताथलीमा सांस्कृतिक एकता र नेपाल संवत्प्रतिको अपनत्व बढाउन सहयोग पुर्‍याउँदै आएको आयोजकको भनाइ छ।

यस वर्षको र्यालीलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न समाजले विभिन्न उपसमिति गठन गरी आवश्यक तयारीसमेत अघि बढाएको जनाएको छ।

र्यालीको विवरण

  • कार्यक्रम: न्हुँदया भिंतुना र्याली
  • मिति: २०८३ कार्तिक २४ गते, मंगलबार
  • समय: बिहान ७ बजे
  • भेला हुने स्थान: बनमाला टोल गणेश मन्दिर, ताथली
  • र्याली मार्ग: बनमाला टोल गणेश मन्दिर → खर्क पुल → गोठाले चौर → पण्डित पँधेरो → फैढोका राममन्दिर (समापन)