काठमाडाैं- काठमाडौंको कोटेश्वर महादेवस्थानबाट २ वर्षीया बालिकालाई अपहरण गर्ने मध्येका २ जना जनकपुरबाट डेढ लाख नगदसहित पक्राउ परेका छन्।
जनकपुर स्थायी घर भएकी राजधानीको थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक बबिता साहकी २ वर्षकी छोरी सन्दिज्ञा साह शुक्रबार बिहान ८ बजे अपहरणमा परेकी थिइन्।
प्रहरीले बालिकालाई सकुशल अपहरणमुक्त गराइसकेको छ। बालिका अपहरणपछि फिरौतीको रकमसमेत उठाइसकेका २ जनालाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
जनकपुरको नमस्कार चोकबाट प्रहरीले अपहरणमा संलग्न आरती गुप्ता र बब्लु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुको साथबाट अपहरणबाट असुली गरिएको डेढ लाख नगद पनि बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक थपलियाले बताए।
आज बिहान ८ बजे कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई अपहरणकारीले ८ घण्टापछि तिलगंगास्थित गणेश होटल अगाडि सडकमै छाडेर भागेपछि प्रहरीले उद्धार गरेको थियो।
बिहान साढे ८ बजेतिर कोटेश्वरस्थित घरबाटै अपहरणमा परेकी २ वर्षीया बालिका सन्दिज्ञा साहलाई प्रहरीले तिलगंगास्थित गणेश होटलबाट दिउँसो उद्धार गरेको हो।
उनी प्रसूतिगृहकी डा बबिता साहकी छोरी हुन्।
अपहरण गर्ने व्यक्ति जनकपुरका मनीषकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। बबिताको घर पनि जनकपुर नै रहेको र उनका श्रीमान्ले गुप्तालाई माल्दिभ्स पठाइदिन्छु भनेर २ लाख ५० हजार लिएकाले त्यही रिसिबीका कारण अपहरण गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
अपहरणकारी आज मात्रै जनकपुरबाट काठमाडौ आइपुगेका थिए।
अपहरण गरेपछि गुप्ताले जोरपाटीतिर घुमाएको र प्रहरीले खोजी गरेपछि होटलमा ल्याई छाडेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।
अपहरणकारी गुप्ता फरार गरेकाले उनको खोजी भइरहेको डिएसपी बोगटीले जानकारी गराए।







































