समूह विजेताका लागि भारत र श्रीलंका भिड्दै

225

माेरङ / विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा श्रीलंकाले आइतबार चारपटकको विजेता भारतको सामना गर्नु पर्ने छ । साफमा चौथो पटक भेट हुने क्रममा रहेका दुबै टोली जित हात पार्दै समूह ‘बी’ बाट समूह विजेता बन्ने होडमा छन् । यस अघिका तीनवटै भेटमा भारतसँग हारको नमिठो अनुभव बटुल्न श्रीलंका बाध्य भएको थियो । फिफा वरियतामा ६२ औं स्थानमा रहेको भारतले यसअघि पाँचौं साफको पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलको फराकिलो अन्तरले निराश बनाएको थियो । भारतीय प्रशिक्षक मेमोल रोकीले टोलीको लक्ष्य उपाधि जित्नुनै रहेको बताइन । साफमा पाँचौ संस्करणसम्म आइपुग्दा भारतले कुल २० खेल खेलेको छ । जसमा १९ मा जित र एक मा बराबरी गरेको छ । १ सय २० गोल गरेको भारतले ५ गोल खाएको छ ।

पहिलो साफमा समूह ‘ए’ मा रहेको भारतले श्रीलंकालाई ७–०, दोस्रोमा ५–० र तेस्रो साफको सेमिफाइनलमा ५–० को फराकिले अन्तरले पराजित गरिसकेको छ । तेश्रोपटक साफको अन्तिम चारमा स्थान पक्का गरेको श्रीलंकाले हालसम्म १५ खेलमा ६ मा जित, १ मा बराबरी र ८ मा हार ब्यहोरेको छ । श्रीलंकाले जारी प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गरेको थियो । भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले निराश बनाएको थियो । समूह ‘बी’ बाट विजेता बन्ने टिमले समूह ‘ए’ को बंगलादेश र उपविजेताले नेपालसँग फाइनल प्रवेशका लागि आगामी बुधबार प्रतिस्पर्धा गर्नु पर्ने छ ।

Purbeli TV

Source link