० हरिसुन्दर छुकां
भक्तपुर । ‘३३ प्रतिशत होइन अब ५० प्रतिशत चाहिन्छ ; प्रमुख पदमा पुरुष मात्र कहाँ बस्न पाइन्छ ?’ प्रस्तुत गीति गेडा राष्ट्रिय महिला आयोगका प्रमुख भगवती घिमिरेले गाएकी हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित नालाछाप महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको तीज कार्यक्रम तथा संस्थाको १६ औं वार्षिक साधारणसभाका अवसरमा उपस्थित महिलाहरुअघि आयोग प्रमुख घिमिरेले मन्तव्यसँगै गीत गाउँदा महिलाहरु नाचेका थिए ।
साकोस्को १६ औं वार्षिकोत्सवको अवसरमा स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो ।सम्मान हुनेहरुमा चाँगुनारायण नपा वडा नं. ९का जनप्रतिनीधिहरु क्रमशः गणेश त्यात, कमला गिरी, कृष्णराम बासुकला, विद्यापति थापा र सुमित्रा दर्जी रहेका छन् ।
सोही अवसरमा जनप्रतिीधि तथा संस्थाका असल ऋणीलाई सम्मान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका प्रमुख आयुक्त भगवती घिमिरेले महिलाहरुको आर्थिक उन्नतिमा महिला सहकारीले खेलको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहकारीले महिलाहरुलाई सीप विकास गर्न ध्यान दिनुपर्ने बताइन् ।
उनले सबैभन्दा बढी सेयर संख्या खरीद गर्ने सदस्य सीता पराजुली(सदस्य नं. ४०३) तथा २०७४ का असल ऋणी ः कमला थापा सदस्य नं. १३५लाई सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरेले तीजको उपलक्ष्यमा महिलाहरुलाई शुभकामना दिएकी थिइन् । उनले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आर्थिक परिचालन गर्नुपर्ने बताइन् । ‘सहकारीमा जम्मा भएका बचतलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । महिला सहकारीले महिलालाई आत्मनिर्भर बनाउन सजिलो बनाएकोले त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’ उनले भनिन् ।
महिलालाई सचेत र संगठित गर्न सकेमात्र नीति निर्माण तहमा पनि पुग्न सक्ने बताउँदै महिलालाई सशक्त बनाउने नीति र कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । उनले राष्ट्रिय महिला आयोगको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिँदै महिला आयोगको कार्यालय प्रान्तमा पनि रहने बताइन् ।
महिलाहरुलाई राज्यको मूल प्रवाहमा पुर्याउने काममा, महिलाहरुमाथि हुने विभिन्न विभेदविरुद्ध वकालत गर्ने, यौनहिंसा विषयमा पैरवी गर्ने , अन्यायमा परेकालाई सहयोग गर्ने काममा आयोगले भूमिका खेलिरहेको उनको भनाइ छ ।
विद्यालय तहदेखि नै महिलामाथि हुने विभेदविरुद्ध काम गर्नेमा जोड दिँदै महिला आयोगका प्रमुख घिमिरेले महिलाको पक्षमा बनेका कानूनको कार्यान्वयनको लागि महिला आयोगले भूमिका खेलिरहेकोमा उनले जोड दिइन् ।
सो अवसरमा प्रमुख अतिथि घिमिरेले दुई बाल बचतकर्ताहरुलाई खुत्रुके उपहार प्रदान गरेका थिए ।
२०५८ साल फागुन २७ गते स्थापना भएको सो संस्थामा अहिले ५ सय १८ जना सदस्यहरु रहेका छन् । सो संस्थाले यो वर्ष २ लाख ९३ हजार १ सय ३७ रुपैंया नाफा गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष उषा ढुंगाना, मिथिला पराजुली, मीरा वाग्ले लगायतले पनि बोलेकी थिइन् ।