आत्मसमर्पणवादी दाहाल सरकारमा सामेल हुनु गम्भीर भूल :राप्रपा

333

संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनु गम्भीर भूल भएको निष्कर्ष निकालेको छ। चार दिनअघि हेटौडामा सुरू भएको केन्द्रीय समितिको बैठकले आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित दाहाल नेतृत्वको सरकारमा सहभागि भएर
आफ्नो पार्टीलाई गम्भीर क्षति पुगेको निश्कर्ष निकालेको हो ।

‘आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागि हुनु पार्टीको गम्भीर भुल हो’ बैठकको निश्कर्ष छ, ‘उक्त सरकारमा सहभागि भएपछि पार्टीको राष्ट्रवादी छवि धुमिल हुन पुग्यो ।’ दाहाल नेतृत्वको सरकारमा निकै लामो समयपछि संविधान संशोधन गर्ने सर्त स्वीकार गरी राप्रपा प्रवेश गरेको थियो । गतवर्ष साउनमा दाहाल–देउवा गठबन्धन सरकार संविधान संशोधन गर्ने भारतीय सर्त पूरा गर्ने कार्ययोजना सहित गठन भएको थियो ।

बैठकले सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावले तराई मधेसका समस्या सम्बोधन गर्न नसक्ने भन्दै संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यसअघि वर्तमान गठबन्धनको दाहाल सरकारमा सामेल हुँदा राप्रपाले संविधान संशोधनका पक्षमा आफूलाई उभ्याएको थियो ।