पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज चुनाव, को को छन् प्रतिष्पर्धामा ?

283

काठमाडौं – नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि सोमबार चुनाव हुँदैछ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौंमा सुरु भएको २५ औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

नयाँ कार्यसमितिका लागि सोमबार बिहान ९ बजेदेखि मतदान हुनेछ । त्यसका लागि आइतबार नै  उम्मेदवारी दर्ता भइसकेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ ।

यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोखरेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबिच प्रतिस्पर्धा हुने भएको छ ।

महिला सचिव लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष समावेशी एक पदका लागि दिलिप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ । महासंघको चुनावका लागि देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि काठमाण्डौं आएका छन् ।