एक वर्षमा २३ सय ८१ प्रहरी कारबाहीमा, कसलाई कस्तो कारबाही ?

395

काठमाडौँ, एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३-७४ मा दुई एसएसपी, एक एसपी, दुई डिएसपी र २७ जना इन्स्पेक्टर विभागीय कारबाहीमा परेका छन् ।

policeकारबाहीमा पर्नेमध्ये तीन सय ४६ जनालाई जागिरबाट हटाइएको छ । जागिरबाट हटाइएकामा तीन इन्स्पेक्टरसमेत छन् । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गरेको छ ।

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरैले नसिहत पाएका छन् । एक हजार दुई सय ६ जनालाई कारबाहीस्वरूप नसिहत दिइएको छ । एक एसपी, दुई डिएसपी, १८ इन्स्पेक्टर, ४६ सइ, एक सय १६ असइ, दुई सय ६२ प्रहरी हवल्दार, सात सय ५४ जवान र आठजना कार्यालय सहयोगी छन् । नसिहत पाएका प्रहरीहरू बढुवामा पछि पर्दछन् । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही गर्ने प्रहरीहरू कारबाहीमा परेका हुन्, नयाँ पत्रिकामा खबर छ ।
कसलाई कस्तो कारबाही ?
एक सय ५१ प्रहरीको ग्रेड रोक्का, २९ को प्रतिकूल राय तथा ३८ को ग्रेड घटुवा गरिएको छ । दुई सय तीनजनाको पदोन्नति रोक्का, २६ को पद घटुवा, दुई सय पाँचको तल्लो स्केलमा घटुवा तथा एक सय ५३ अनुसन्धानका लागि निलम्बनमा परेका छन् । आव ०७२-७३ मा एक हजार दुई सय ७२ प्रहरी विभागीय कारबाहीमा परेका थिए । तर, पछिल्लो वर्ष कारबाहीमा पर्नेको संख्या झन्डै दोब्बर पुगेको छ । कारबाही बढ्नुले संगठनभित्र मौलाएको भ्रष्टाचारलाई प्रतिबिम्बित गर्ने प्रहरी अधिकारीहरू बताउँछन् । आव ०७३-७४ मा अपराध पनि अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत बढेको थियो । नेपाल प्रहरीमा ७२ हजार ७१९ प्रहरी छन् । जसमध्ये करिब ३ प्रतिशत प्रहरी कारबाहीमा परेका छन् ।