
गलेश्वर – कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन ।
गत भदौ ३१ गते राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा आए पनि काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो पन्छाई नसकिएकाले सिधा सवारी सञ्चालन हुन नसकेको बेनी–जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।

निरन्तरको वर्षासँगै मध्यरातमा आएको बाढीले दोस्रोपटक रुप्सेमा कटान गरेपछि दुवैतर्फबाट आयोजनाले मेसिनको प्रयोग गरी पहिरो हटाएको आयोजनाले जानकारी दिएको छ । रुप्सेमा आएको बाढीले करिब २०० मिटर सडकमा क्षति पुर्याएपछि सवारीसाधन अलपत्र परेका थिए ।