६७ लाख प्रतिबन्धित भारतीय नोट काठमाडौंबाट बरामद, ठुलै सञ्जाल सक्रिय !

359

काठमाडौं । प्रहरीले काठमाडौंको बनस्थलीबाट ठुलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ ।

विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले ६७ लाख २० हजार पुराना भारतीय नोट बरामद गरेको हो ।

भारत सरकारले प्रतिबन्ध लगाएको १ हजार र ५ सय दरका पुराना नोटसहित २ जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा बाँके कोहलपुरकी कृष्ण कुमारी शर्मा र गोरखाका अर्जुन भण्डारी रहेका छन् ।

पुरानो नोटका कारोबारीले साट्नका लागी उनीहरु दुईजनालाई उक्त रकम दिएर पठाएको बेला प्रहरीले विषेश सूचनाका आधारमा पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार पुराना भारतीय नोटसहित पक्राउ परेका दुबैजना रकमका मालिक भने हैनन् । उनीहरुलाई अन्य कुनै व्यक्तिले साट्न पठाएको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुले उक्त रकम १ सय भारतीय रुपैयाँ बराबर ६० देखि ७० रुपैयाँ नेपालीमा ‘डिल’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त रकम नेपाल भित्र्याउनेको पहिचान गर्ने काम भईरहेको डीएसपी श्रेष्ठले बताए ।

सुराकीले नै रकम साट्ने भनेर उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।