अव गाडीको नम्बरप्लेट प्रदेशका नाममा

364

काठमाडौं । सिंहदरबारमा बुधबार बसेको व्यवस्थापिका संसद विकास समितिको बैठकमा “सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट राख्ने सम्बन्धमा अहिले सम्म भएका कार्य प्रगति र तिनको सम्बन्धमा उठेका प्रश्नको समिक्षा गरिएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका मन्त्री,मन्त्रालयका निमित्त सचिव,यातायात व्यवस्था विभागका महानिर्देशक लगायत सम्बद्ध पदाधिकारीहरुसँग छलफल भएको छ । बुधबार भएको सो छलफलमा यस्ता निर्णय सार्वजनिक भएका छन् ।

१) समितिको बुधबारको बैठकमा स्थनीयतहको शासन सञ्चालन सम्बन्धी विधेयक माथि दफावार छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न गठित उपसमितिले समिति समक्ष प्रतिवेदन पेश गर्‍यो । साथै समितिले उपसमितिको लागि प्रतिवेदन तयार गर्न अपुग देखिएको समयको म्याद थप गर्दै प्रतिवेदन स्विकार गर्‍यो ।

२) त्यसै गरी सडक सुरक्षा उपसमितिले “सडक सुरक्षा सम्बन्धी प्रतिवेदन, २०७४” समितिमा पेश गर्‍यो र समितिको बैठकले उक्त प्रतिवेदन पारित गर्दै कार्यान्वयनको लागि बुधबारको बैठकमा उपस्थित माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हस्तान्तरण गर्‍यो ।

३) सवारी साधनहरुमा Embosed No.Plate राख्ने सम्बन्धमा टेन्डर प्रक्रिया प्रारम्भ भए पश्चात हालसम्म भएको प्रक्रिया विशेष गरी आवेदन गर्ने ४ वटा कम्पनी मध्ये सबै भन्दा न्यून रकम (२९ मिलियन डलर) प्रस्ताव गर्ने कम्पनीलाई छनौट नगरी बढीरकम प्रस्ताव गर्ने आवेदक मध्येको दोश्रो कम्पनी (Decatour Tiger Co-operation, वंगलादेश र अमेरिकन संयुक्त कम्पनी–४०.५ मिलियनडलर) लाई छनौट गर्नु पछाडिको स्पष्ट कारणहरु, सार्वजनिक खरिद ऐन, नियमावलीसँग कम्पनी छनौटको तादात्म्यता (Compatability) खुलाई यस समितिलाई ७ दिन भित्र लिखित जानकारी उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, तथा यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।

४) Embosed No. Plate राख्नप्रति सवारी साधन सवारी धनिसँग लिइने शुल्क अपारदर्शी, अस्पष्ट रहेको भन्ने जनगुनासो रहेको र Embosed No. Plate राख्न प्रारम्भदेखि अन्त्य सम्मको सम्पूर्ण लागत रकम सेवाग्राहीबाटै उठाउने सरकारको लक्ष्य समेत रहेको देखिएको सन्दर्भमा पुर्नविचार गर्न, प्रस्तावित शुल्कलाई व्यवहारिक आधारमा परिमार्जन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।

५ ) Embosed No. Plate प्रयोगमा ल्याउन आवश्यक प्रविधि, उपकरणएवं सञ्चालनको पूर्व तयारीको लागि आवश्यक पर्ने Data Centre, Control Room, Satellite Connection, RFID Sticker, Readable Deviceses and Towers सम्बन्धी कार्यले पूर्णता नपाएको देखिएकोले उक्त कार्यहरुलाई तत्काल पूर्णतादिन, पूर्व तयारीका सम्पूर्ण कार्य पूरा गरेर मात्र सेवा प्रवाहगर्न, गुणस्तरमा सुनिश्चितता (ISO Certified) गर्न, स्मार्ट लाइसेन्स वितरणमा देखिएको जस्ता समस्याहरु Standard Service Delivery वितरणमा आउन नदिने तर्फ सचेत रहन र Embosed No. Plate गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।

६) सवारी साधनको लागिनम्वर प्लेट वितरणगर्ने कार्य अञ्चलगत आधारमा गरिंदै आएकोमा अव अञ्चलगत आधारमा नगरी अनिवार्य रुपमा प्रदेशगत आधारमा गर्ने व्यवस्था मिलाउन र प्रदेशको नामाकरण पश्चात् निशुल्क रुपमा Embosed No. Plate मा प्रदेश समावेश गर्न मिल्ने गरी कार्य सम्पादन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।

७)  Embosed No. Plate मा नेपाली अक्षर नरहने भन्ने जनगुनासो रहेको सन्दर्भमा नेपाली अक्षर राख्न किन नसकिने हो सो सम्बन्धी जानकारी ७ दिनभित्र समितिलाई उपलब्ध गराउन तथा नम्बर प्लेटमा देवनागरी लिपी राख्ने सम्बन्धमा आवश्यक उपाय पहिल्याई गृहकार्य गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।