भारतमा दुर्घटना, ८ को मृत्यु, ७ नेपाली भएको अाशंका

331

भारतको सुनौली–गोरखपुर सडक खण्डको देवपुरचोकमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना नेपाली रहेको बताइएको छ ।

गोरखपुरबाट सुनौलीतर्फ आइरहेको युपी ५३ सिटी ७२०२ नम्बरको टाटा इंन्डिगो कार र सुनौलीबाट गोरखपुरतर्फ जाँदै गरेको युपी ५२ टि ४३७७ नम्बरको ट्यांकर एकापसमा ठक्किँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै स्थानीय पत्रकार आलोक जोशीले बताएका छन् । घटनास्थल भैरहवाबाट कम्तिमा ३५ किलोमीटर टाढा पर्छ ।

मृतकमध्ये अहिलेसम्म कार चालकको मात्र सनाखत भएको छ । उनको नाम अब्दुल हफिज बताइएको छ । मृत्यु हुनेमा २ बच्चा, एक महिला र पाँच पुरुष छन् । ड्राइभर बाहेक सबै मृतकहरु नेपाली भएको बताइए पनि सनाखत हुन नसकेको छैन । दुर्घटनामा नेपाली परेको खबर आउनसाथ त्यसतर्फ प्रहरी पठाइएको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक रविन बिष्टले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार चालकले मादक पदार्थ सेबन गरेका कारण सहचालकले ट्यांकर चलाइरहेको थियो । ट्यांकरभित्र चालकसंगै अन्य दुई महिला समेत रहेको र घटनापछि उनीहरु फरार भएको बताइएको छ ।