नागरिकता हात पारेपछि स्वर्ण पदक जितेको अनुभव

416

काठमाडौं –नागरिकता नभएका कारण कठिनाइ भोगीरहेका राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले बुधबार नागरिकता पाएका छन् । सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिकता नभएका कारण २३ वर्षको भएर पनि सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा गई सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गर्नुभयो । सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजीका स्वर्ण विजेता हुन् ।

राखेपका सदस्य–सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउँदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको बताउनुभयो । उहाँले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपले सुशीललाई नागरिकता दिलाउन पहल गरेको भन्दै १३ औं सागको तयारीका लागि सुशीललाई वैदेशिक प्रशिक्षणमा पठाउन बाटो खुलेको बताउनुभयो ।

सुशीलले नागरिकता नभएकै कारण पासपोर्ट नबनेपछि चार वटा अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएका थिए ।  नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिए ।