Home समाचार नारी अधिकारकी अभियन्ता मिठाईदेवी विश्वकर्मा र महाकाव्यकार रमेशचन्द्र देवकोटा सम्मानित
काठमाण्डौं । वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट श्रीमती मिठाईदेवी विश्वकर्मा सम्मानित हुनुभएको छ । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।
नेपाल स्रष्टा समाजको १० औँ साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा विश्वकर्मालाई कार्यक्रमका प्रमख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मान–पत्र प्रदान गर्नुभयो । यस्तै यस सम्मानका संस्थापक नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले विश्वकर्मालाई रू. २५ हजार नगद प्रदान गर्नुभयो । सामाजिक अभियन्ता योगमायाको विषयमा नेपाल स्रष्टा समाजका कार्यकारी सदस्य प्रा.डा. गोविन्दमानसिंह कार्कीले प्रकाश पार्नुभएको थियो । सम्मानित स्रष्टा मिठाइदेवीका विषयमा समाजका सचिव तारा सुवेदीले बोल्नुभएको थियो । सम्मान ग्रहणपछि बोल्दै विश्वकर्माले योगमायाजस्तो उच्च गरीमा बोकेकी नेपाली नारीको नामबाट आफू सम्मानित हुन पाउँदा धेरै गर्व महसूस गरेको बताउनुभयो । यस्तो सम्मान प्रदान गर्ने नेपाल स्रष्टा समाज र सम्मानका लागि आफूलाई छनौट गर्ने समितिलाई पनि उहाँल धन्यवाद व्यक्त गर्नुभयो ।
वि.सं. २०६५ सालदेखि योगमाया राष्ट्रिय नारी साहित्य सम्मान प्रदान गर्दै आइएको छ । मिठाइदेवीसहित अहिलेसम्म आठ जना महिला साहित्यकारहरू यस सम्मानबाट सम्मानित भइसक्नु भएको छ ।
यस्तै सोही कार्यक्रममा सुभद्रा–विश्वराज साहित्य सम्मानबाट पहिलो पटक गोरखाका ८४ वर्षीय स्रष्टा रमेशचन्द्र देवकोटा सम्मानित हुनुभएको छ । सामाजिक चिन्तन, आध्यात्मिकता र ऐतिहासिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जनामार्फत् योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्ने उद्धेश्यले नेपाल स्रष्टा समाजका उपाध्यक्ष विधान आचार्यले सो सम्मानको स्थापना गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथिले सम्मान–पत्र र सम्मानका संस्थापक नेपाल स्रष्टा समाजका उपाध्यक्ष विधान आचार्यले रू. ११ हजार १११ हजार नगद प्रदान गरेर देवकोटालाई सम्मान गर्नुभएको हो ।
सम्मानित व्यक्तित्व रमेशचन्द्र देवकोटाको विषयमा नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ले जानकारी गराउनुभएको थियो । सम्मान ग्रहणपछि आफ्नो मन्तव्य राख्दै देवकोटाले भन्नुभयो, ‘आध्यात्मिक साहित्यको क्षेत्रमा अझ धेरै गर्ने प्रेरणा मिलेको छ । यसले म जस्ता उमेरले नेटो काटेका व्यक्तिहरूलाई पनि उर्जा मिल्नेछ ।’ उहाँले भर्खरै स्वाभिमान नामको महाकाव्य प्रकाशन गर्नुभएको छ । त्यस्तै खण्डकाव्य, कविता सङ्ग्रह तथा अनुवाद गरी सातवटा कृति प्रकाशनको तयारीमा रहेका छन् ।
यस्तै सोही साहित्यिक कार्यक्रममा नेपाल स्रष्टा समाजका आजीवन विशिष्ट सदस्य जीवनाथ पोखरेलको काव्यकृति जीवनका परिवेशहरूको लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा अन्य व्यक्तित्वहरूले कृतिको लोकार्पण गर्नुभएको हो ।
जीवनका परिवेशहरूमाथि वरिष्ठ कवि नेपाल स्रष्टा समाजका सल्लाहकार शैलेन्द्र साकारले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । आफ्नो साहित्यिक यात्राका विषयमा बोल्दै स्रष्टा पोखरेलले वरिष्ठ कथाकार परशु प्रधान र वरिष्ठ कवि शैलेन्द्र साकारको प्रेरणाले आफू साहित्यिक क्षेत्रमा प्रवेश गरेको बताउनुभयो ।
कार्यक्रममा सम्मानित स्रष्टा रमेशचन्द्र देवकोटाका पुत्र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँले देशको विकासका लागि साहित्यकारहरूको कलमले ठूलो योगदान गर्न सक्ने बताउँदै पिछडिएको क्षेत्र, राज्यको आँखा पर्न नसकेको स्थान र परिवेशका विषयमा कलम चलाई आफूजस्तो विकासकर्मीको आँखा खोलिदिन पनि साहित्यकारहरूलाई आग्रह गर्नुभयो ।
नेपाली भाषा र नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नमा नेपाल स्रष्टा समाजले खेलेको भूमिकाको प्रसंशा गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयोः “नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा विगत १० वर्षदेखि निरन्तर सेवा गर्दै आएको एउटा उत्कृष्ट साहित्यिक संस्थाको रूपमा लिएको छु । यस संस्थाका कार्यक्रमहरूमा आफू उपस्थित हुन पाउँदा गौरवको अनुभूति हुन्छ ।”
कार्यक्रमका अध्यक्ष नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापना, योगमाया सम्मानको स्थापना तथा संस्थाको अहिलेसम्मको यात्राको विषयमा बोल्दै आफ्नो अमूल्य समय दिएर कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने उपस्थित सम्पूर्ण साहित्यकर्मी र साहित्यलाई माया गर्ने व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । समाजका उपाध्यक्ष विधान आचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकारहरू, साहित्य अनुरागी, पत्रकारहरूलगायत नेपाल स्रष्टा समाजका सल्लाहकारहरू, आजीवन विशिष्ट सदस्यहरू, विशिष्ट सदस्यहरू तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।
Related