शुक्रबारदेखि देशभरका अस्पताल बन्द गर्ने चिकित्सक संघको चेतावनी

487

काठमाडौं – उपचारको क्रममा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएमा सम्बन्धीत चिकित्सकबाट क्षतिपूर्ति भराउने सरकारको निर्णय फिर्ता गर्नुपर्ने लगायत विभिन्न माग राख्दै चिकित्सकहरुले शुक्रबारदेखि देशभरका सम्पुर्ण स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

संघले गत असोज २ गत मन्त्री परिषद्को बैठकले गरेको निर्णय फिर्ता गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहरुलाई बिना धरौटी जेल चलानको प्रावधानको  ऐन तथा नियमावलीमा थप गर्नुपर्ने र नेपाल चिकित्सक संघसँग नेपाल सरकारले विगतमा गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन हुनु पर्ने माग राख्दै शुक्रबार देशभरको अस्पतालको सेवा बन्द गर्ने जनाएको छ ।

नेपाल सरकारको गैरजिम्मेवारपूर्ण निर्णय गरेको भन्दै विरोध कार्यक्रम गर्नुपरेको संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले लोकान्तरलाई बताए । उनले सेवा बन्द गर्दा सर्वसाधारणमा पर्ने असरको  नेपाल सरकारले नै जिम्मा लिनुपर्ने समेत बताए ।

सरकारले गत असोज २ गते डाक्टरको लापरबाहीबाट विरामीको मृत्यु भएका त्यसको क्षतिपूर्ति उपचारमा संलग्न डाक्टरले व्यहोर्नुपर्ने निर्णय गर्दै सो सम्बन्धी विधेयक संसदमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । चिकित्सक संघले सो निर्णय ७२ घण्टाभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको थियो ।