हनीप्रीतका भाइले खोले राम रहीम र दिदीको रहस्य

832

काठमाडौं — साध्वीहरूलाई बलात्कार गरेको आरोपमा २० वर्षे जेल सजाय काटिरहेका राम रहीमकी प्रियपात्र हनीप्रीतलाई प्रहरीले खोजिरहेको छ ।

यसैबीच हनीप्रीतको काकाको छोरा विजय तनेजाले राम रहीम र हनीप्रीतबीचको सम्बन्धमा फैलाइएका खबर गलत भएको बताएका छन् । विजयले हनीप्रीतलाई प्रहरीसमक्ष आत्मसमर्पण गर्न समेत सल्लाह दिएका छन् ।

मिडियासमक्ष पहिलोचोटि देखापरेका विजय पत्रकारहरूले राम रहीमसँग हनीप्रीतको सम्बन्धका बारेमा प्रश्न सोध्दा भावुक भएका थिए ।

उनले भने, ‘संसारले जतिसुकै झुटो आरोप लगाएपनि हनीप्रीत मेरी दिदी हुन् । उनको र राम रहीमको सम्बन्ध पिता र छोरीको हो ।’

हनीप्रीतका पूर्वपतिका आरोपलाई खारेज गर्दै विजयले कुनै प्रमाण भए त्यो देखाउन चुनौती दिए ।

एउटा टीभी च्यानललाई अन्तर्वार्ता दिँदै विजयले हनीप्रीतको घर बाबाको गुफाभन्दा ५०० मिटर टाढा रहेको बताए ।

डेरामा हनीप्रीतको घरभित्र उनको परिवारका अतिरिक्त राम रहीम र उनको परिवार मात्र जान सक्ने विजय बताउँछन् ।

हनीप्रीतका पिता रामानन्द तनेजा र आमा आशा तनेजा हुन् । उनीहरू फतेहाबादमा बस्छन् । हनीप्रीतको खास नाम प्रियंका तनेजा हो ।

रामानन्द बाबा राम रहीमका कट्टर भक्त हुन् । उनले आफ्नो सारा सम्पत्ति बेचेर डेरा सच्चा सौदामा पसल चलाइरहेका छन् ।

हनीप्रीतका अलावा उनको अर्की एक छोरी छ जसको विवाह भइसकेको छ ।

एजेन्सी