तीन राजनितिक दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने सम्झौता गरे पछि पूँजी बजारमा त्यसको नकारात्मक प्रभाव परेको छ । सामान्य अवस्थामा राजनितिक स्थायित्वको संकेतमा बजार तिब्र गतिमा उकालो लाग्ने अनि राजनितिक अस्थिरता देखिँदा तिब्र गतिमा घट्ने गरेको थियो । तर मंगलबारको घटनाक्रमले राजनितिक स्थायीत्वको संकेत गरे पनि बजार दोहोरो अंकले तल झरेको हो ।
मंगलबार साँझ भएको चुनावी तालमेल र एकता प्रक्रियामा जाने सम्झौताले राजनितिक स्थायीत्वको आशमा बजार उकालो लाग्ने आश गरिएको थियो । बजार खुलेको पहिलो १५ मिनेटसम्म केही सुधारका बिच सामान्य अवस्थामा रहेको थियो । तर क्रमिक रुपमा ओरालो लाग्ने क्रममा बजार बन्द हुँदा १३.७० अंकको गिरावटमा बन्द भएको हो । अन्तिमको केही मिनेटमा बजारको गिरावट १७ अंक नजिकबाट झण्डै तीन अंकको सुधार सहित बन्द भएको हो । बजार परिसुचक नेप्से १५४२.६५ अंकमा आई पुगेको छ ।

ठुलो दल बन्न नसक्दा निर्वाचनमा सोही अनुसारको मत नपाउने अवस्थाको अन्त्य गर्न तालमेलमा दलहरु सहमत भए पनि लगानीकर्ता भने खुसी नभएको आँकलन गर्न सकिन्छ । आगामी मंसिरमा संसदीय र प्रदेशसभाको निर्वाचन गर्ने प्रकृया सुरु भईसकेको छ । यो अवस्थामा भएको तीन दलको सम्झौताले १६ बर्षदेखि देशमा जारी संक्रमणकालको अन्त्य होला भन्ने अपेक्षा धेरैले गरेका छन् । यति मात्र नभई वर्ष दिनसम्म पनि टिक्न नसक्ने सरकार बनाउने परिपाटीको अन्त्य भई स्थायी सरकार बनोस भन्ने भन्ने जनताको चाहना पनि पुरा हुने आधार यही सम्झौता हो ।
तर छिनमा हुने सम्झौता अनि अन्तरघातका यस अघिका घटनाक्रमबाट आजित बनेका सर्वसाधारण अहिले पनि तीनदलको निर्णयमा पुर्ण विश्वस्त हुन नसकिरहेको अवस्था छ । पूँजी बजारका लगानीकर्तामा पनि यस्तै बितृष्णा भएका कारण बजारप्रतिको उत्साह नबढेको हुन सक्छ ।

राजनीतिक स्थायित्वबाट नै मुलुकको आर्थिक विकास सम्भव हुने र त्यसको जग मंगलबारको सम्झौता भएको बुझाई धेरैमा छ । तर सम्झौताप्रति विश्वस्त हुन नसक्दा भोलि के हुने हो अहिले किन धेरै उचालिनु भन्ने सन्देश लगानीकर्तामा परेको हुन सक्छ । जसका कारण दशैं पछि जबार खुलेको दोस्रो दिन कारोबार रकममा पनि खासै उत्साह देखिएको छैन ।
यद्यपी अघिल्लो दिनको तुलनामा कारोबार रकम भने झण्डै दोब्बर मात्रामा बढेको छ । अघिल्लो दिन १४ करोड रुपैंयाको सेयर कारोबार भएकोमा बुधबार झण्डै २८ करोड रुपैंयाको सेयर किनबेच भएको हो । १४४ कम्पनीका छ लाख ६० हजार ४३ कित्ता सेयर दुई हजार पाँच सय १९ पटक किनबेच भएका छन् ।
होटल, उत्पादन र अन्य उपसमुह उकालो लाग्दा बाँकी सबै उपसमुहमा गिरावट आएको छ । बीमा समुहमा सबैभन्दा धेरै अर्थात ३५.२३ अंकको गिरावट आएको छ ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको अधिक सेयर किनबेच भएको छ । त्यसै गरी चिलिमे हाइड्रो, स्टाण्डर्ड चार्टर्ड बैंक, ओरेण्टल होटल, इन्भेष्टमेण्ट बैंक लगायत कम्पनीको अधिक सेयर किनबेच भएको छ ।
दिव्यश्वरी हाइड्रो तथा सिनर्जी पावरको सेयर मूल्य छ प्रतिशत हाराहारीमा बढ्दा केही म्युचुअल फण्ड सहित साना कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
धेरै सेयर मूल्य घट्नेमा नेरुडे लघुवित्त सहित एक वाणिज्य बैंक र साना तथा मझौला कम्पनी रहेका छन् ।
दशैं मनाएर नियमित दैनिकीमा लगानीकर्ता फर्किनसकेका कारण पनि बजार घट्नलाई टेवा पुगेको छ ।
Related