थ्रेस होल्डले नेमकिपाको संघर्ष रोकिन्न ,यस्तै भए कांग्रेस, एमाले र माओवादीभित्रै पार्टी खोल्छु : बिजुक्छे

1271

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले कांग्रेस, एमाले र माओवादीभित्रै अर्को पार्टी खोल्ने उद्घोष गर्नुभएको छ ।

समसामयिक राजनीतिबारे मंगलबार भक्तपुरको टौमढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता रोहितले तीन प्रतिशतको मतसीमा (थ्रेस होल्ड) लगाएर नेमकिपाको संघर्ष रोक्न नसकिने बरु उल्टै कांग्रेस, एमाले र माओवादीभित्रै पार्टी खोल्ने उद्घोष गर्नुभएको हो ।

उहाँले संसदमा नेमकिपाका सांसदहरुले भारतीय विस्तारवादविरुद्ध नाराबाजी गरेकै कारण भारतको निर्देशनमा ठूला दलहरुले थ्रेस होल्डको नीति पारित गरेको आरोप लगाउनुभयो ।

’हाम्रो सांसदहरुले भारतीय विस्तारवादविरुद्ध चर्को नारा लगाएकै कारण ठूला दलहरुले भारतको निर्देशनमा थ्रेस होल्डको व्यवस्था गरेका हुन्’, उहाँले भन्नुभयो, ‘तर थ्रेस होल्डको व्यवस्था गरिँदैमा नेमकिपालाई देश र जनताको पक्षमा बोल्न कसैले रोक्न सक्दैन । हाम्रो आवाजलाई बन्द गर्न खोज्ने कांग्रेस, एमाले र माओवादीभित्रै पार्टी खोल्छौं।’

पार्टी प्रतिबन्ध लगाएको पञ्चायती शासनकै बेला नेमकिपाले गाउँ ठाउँमा संगठन गरेर देश र जनताको सेवा गरेको स्मरण गर्दै उहाँले अहिलेको प्रजातान्त्रिक समयमा थ्रेस होल्ड लगाउँदैमा नेमकिपालाई देश र जनताको सेवा गर्नबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।

नेता रोहितले नेपालको शासन भारतीय दूतावासमार्फत सञ्चालन भइरहेको र सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री तथा ठूला दलका नेताहरु भारतीय विस्तारवादका दलालमात्रै भएको आरोप लगाउनुभयो ।

आफ्नो मन्तव्यमा अधिक समय भारतीय विस्तारवादको विरोध गर्दै उहाँले भारतको दूतावासबाट फोन गरेकै कारण निर्वाचन आयोगले सरकार विस्तारको विरोध गर्न नसकिएको पुष्टि भइसकेको बताउनुभयो ।

‘भारतीय दूतावासको एउटा फोनले हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु थरथर हुन्छन्। त्यसैले उनीहरु भारतीय दलाल नभए के हुन ?’, नेता रोहितको प्रश्न थियो, ‘हुँदा हुँदा निर्वाचन आयोगका प्रमुख आयुक्तसमेत भारतीय दूतावासको एउटा फोनमार्फत चल्छन् भने देश कसबाट सञ्चालित छ भन्ने प्रस्ट हुँदैन र?’

नेता रोहितले कांग्रेस, एमाले र माओवादीकै कारण देश र जनताले दुःख पाएको दावी गर्दै अबको निर्वाचनमा उनीहरुलाई हराउन आह्वान गर्नुभयो । नेमकिपा भक्तपुर जिल्ला समितिद्वारा आयोजित उक्त जनसभामा नेमकिपा केन्द्रीय सचिव प्रेम सुवालले निर्वाचन केन्द्रित भएर गठन भएको वामपन्थी र लोकतान्त्रिक गठबन्धन नामले जेसुकै भए पनि काम र व्यवहारले अप्रजातान्त्रिक र पूँजीवादी भएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्यहरु सुनिल प्रजापति, डिल्लीप्रसाद काफ्ले, नारायण महर्जन, अनुराधा थापामगरलगायतले नेपाल र नेपाली जनताको मुख्य शत्रु भारतीय विस्तारवाद एवं भारतीय एकाधिकार पूँजी रहेको भन्दै यसविरुद्ध संघर्ष गर्नु आवश्यक भएको बताउनुभयो । संघ तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा गरिएको नेमकिपाको उक्त कार्यक्रमलाई चुनावी शक्ति प्रदर्शनको रुपमा लिइएको छ ।