गोवर्द्धन पूजाको शास्त्रीय परम्परा

557

हिन्दुहरुको दोस्रो ठुलो चाहाड यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाउने हाम्रो परम्परा रहेको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको  छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

म्हः (आत्म) पूजा

नेवार समुदायमा आज म्हः (आत्म) पूजा मनाउने गरेका छन् । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरुले आफ्नो म्हः (आत्म) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने शास्त्रीय  र धार्मिक र परम्परा  रहेको हो ।

आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

https://jyotishbastu.com/gai-puja/