काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो मुख्य एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
निर्वाचनको लागि विभिन्न दलबाट खेलकुदमा काम गर्दै आएका, पूर्वखेलाडी तथा खेलकुदसँग नजिक रहेका उमेदवारमेत चुनावी मैदानमा रहेका छन् ।
आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसबाट ५ खेल पदाधिकारी विभिन्न क्षेत्रबाट उमेदवार बनेका छन् । त्यस्तै, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट ५ खेल पदाधिकारी चुनावी मैदानमा छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, अखिल नेपाल फुटबल संघ (एन्फा) का सिईओ इन्द्रमान तुलाधरलगायत चुनावी मैदानमा छन् ।
चुनावी मैदानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि एन्फाका पूर्वपदाधिकारी र खेलाडीसमेत हुन् ।
दलहरुले आफ्नो घोषणापत्रमा खेलकुदलाई मुख्य एजेन्डा भने बनाएका छैनन् । राजनीतिक दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा अन्य क्षेत्रभन्दा खेलकुदलाई भने निकै कम प्राथमिकता दिएका छन् ।
चुनावी घोषणापत्रमा नेकपा एमाले र माओवादी केन्द्रले खेलकुदलाई केही बढी प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले खेलकुदबारे एजेन्डा तयार गरेको छ । नेपाली कांग्रेस खेलकुद एजेन्डामा चुकेको छ भने नयाँ शक्ति र विवेकशील साझा पार्टीले थोरै भए पनि स्थान दिएका छन् ।
गठबन्धनले ‘स्वस्थ जीवनको आधार, खेलकुद विकास’ नामक शीर्षकमा खेलकुदबारे आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ । गठबन्धनले प्रदेश तथा स्थानीय तहहरुमा रंगशाला, खेल मैदान लगायतको भिजन तयार गरेको छ । यस्तै विद्यालय शिक्षालाई समेत मुख्य एजेन्डा बनाएको छ । गठबन्धनले सबै गाउँपालिका तथा नगरपालिकाका वडाका टोलहरुमा खेलमैदान र विचरण पार्क बनाउनेदेखि प्राथमिक तहका विद्यार्थीहरुलाई समेत खेलकुदमा लगाउने योजना तर्जुमा गरेको छ ।
यता, सत्तामा रहेको नेपाली कांग्रेसले घोषणापत्रमा खेलकुदबारे केही उल्लेख गरेको छैन । हाल युवा तथा खेलकुद मन्त्री रहेका राजन केसीसमेत कांग्रेसका नेता र उमेदवार हुन् । एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, एन्फाका सिइओ इन्द्रमान तुलाधर, पूर्वओलम्पियन सुरेन्द्र हमाल जस्ता हस्तीहरु कांग्रेसबाट चुनावी मैदानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा खेलकूदको विकास एवं प्रवर्धन भनेर खेलकुदलाई समेत आफ्नो एजेन्डा बनाएको छ । राप्रपाले खेल क्षेत्रमा व्याप्त पार्टीकरण र राजनीतिकरणको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै काठमाडौमा ३ वर्षभित्रमा ५० हजार दर्शक क्षमताको अर्को रंगशाला बनाउने उल्लेख गरेको छ ।
त्यस्तै, गल्फ खेललाई विकास गर्दै गल्फ पर्यटनको रुपमा विकास गर्ने, मधेश र तराईमा हात्तीपोलोको लागि विशेष व्यवस्था गर्ने तथा प्रत्येक प्रदेशमा सुविधासम्पन्न रगंशाला र गाउँपालिका तथा नगरपालिकामा खेलका संरचना, खेलकुद कलेज वा प्रतिष्ठान खोलिने उल्लेख गरेको छ ।
नयाँ शक्ति र विवेकशील पार्टीले खेलकुदलाई थोरै भए पनि प्राथमिकतामा राखेका छन् । नयाँ शक्तिले खेलकुद र मनोरञ्जनलाई जोडेर संघीय संरचनाअनुसारको खेलमैदान निर्माण गर्नेमा जोड दिएको छ । त्यस्तै विवेकशील साझाले खेलकुद विकासको लागि प्रत्येक तहमा रंगशाला, कबर्डहल बनाउने आफ्नो एजेण्डामा राखेको छ ।