तयार भयो मुलपानी क्रिकेट मैदान, शनिबार मैत्रीपुर्ण खेल हुने

465

काठमाडौं – काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ ।

लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि यहि कात्तिक २५ गते  शनिबार अहिलेका राष्ट्रिय खेलाडी र पूर्व खेलाडीबिच खेल पनि हुने भएको छ । ‘मैदान खेल्न याग्य छ भन्ने सन्देश दिन कात्तिक २५ गते मैत्रीपूर्ण खेल हुँदैछ, लामो समयको प्रयासपछि यो मैदान खेल्न योग्य भएको छ’ नेपाल क्रिकेट संघका कार्यसञ्चालन अधिकृत छुम्वी लामाले उज्यालोसँग भन्नुभयो ।

१३ वर्षअघि निर्माण सुरु भएको मैदान विभिन्न कारणले पूरा हुन सकेको थिएन । २०७३ सालको असोजमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेलसहितका क्रिकेटर र क्रिकेट संघका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्वी लामाको पहलमा तत्कालिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई मैदान निर्माणको माग गरेर ज्ञापनपत्र बुझाइएको थियो ।

चैतमा झन्डै १७ लाख बजेट छुट्याएर काम सुरु भएको थियो । माथिल्लो क्रिकेट मैदानलाई क्यानले २०६४ सालमा मैदान सम्याउने तथा बार लगाउने काम सकेर २०६७ सालमा पभेलियनसमेत बनाएको थियो तर त्यसपछि मैदान निर्माणको काम अलपत्र थियो । माथिल्लो मुलपानी क्रिकेट मैदान खेल्न योग्य भएपछि त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानको विकल्प पनि तयार भएको छ ।