महतमाथि एम्बुस आक्रमण : गाडी आकाशमा उछिट्टियो

467

नुवाकोट– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट नुवाकोट–१ का उम्मेदवार डा. रामशरण महतले बिहीवार नै नुवाकोटको ककनी लगायत क्षेत्रमा चुनाव प्रचार र घरदैलो गर्ने योजना बनाएका थिए । ककनी–७,चतुरालेमा चुनावीसभा पनि थियो ।

योजना मुताविकै महत शुक्रवार विहानै ककनीका लागि निस्किए । साथमा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रमेश महत र महेन्द्र थिङ पनि थिए ।

महत चढेको गाडी सबैभन्दा अगाडि थियाे । महतकाे गाडी पछाडि कार्यकर्ता चढेकाे गाडी थियाे । ककनीकै काउलेथा भन्ने ठाउँमा  पुग्दा ठूलो आवाज आयो । महतकाे गाडीभन्दा पछाडि रहेको बा१६च ६६५ नम्बरको गाडी आकाशमा उछिट्टियो र जमिनमा पल्टियो ।

गाडीमा करिब ५ जना थिए । सबै चिच्याउँदै थिए । कसैको टाउकोमा चोट लागेको थियो त कसैको हात र खुट्टामा । उनीहरुलाई गाडीबाट बाहिर निकालियो ।

सबैजना आत्तिएको अवस्थामा थिए । सुरक्षाकर्मीले अन्य स्थानमा पनि बम राखेको हुन सक्ने भन्दै सामान्य सर्च गरे । एउटा मात्रै बम रहेको त्यो पड्किसकेको निधो भइसकेपछि महतपनि गाडीबाट बाहिर निस्किए ।

सडकमुनि कुकर बम 

बम बिस्फोट भएको सडकमा ठूलो भ्वाङ फरेको छ । वरपरको जमिन पनि फाटेर धुजा धुजा भएको छ । प्रहरीका अनुसार सडकमुनि प्रेसर कुकर बम बिछ्याएर राखिएको थियो । बम राखिएको स्थानभन्दा करिब १०० मिटर टाढासम्म तार तानिएको थियो । महतको गाडी पुग्नेवित्तिकै तार जोडेर बम बिस्फोट गराइएको प्रहरीको भनाइ छ ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं

दुर्घटनामा घाइते भएका ५ जनालाई हेलिकप्रटमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने नुवाकोट–१ (ख) का उम्मेदवार रमेश महतले बताए ।

‘जंगलको बीचमा हत्या प्रयास भयो’

कांग्रेस नेता महतले आफ्नो चुनावी प्रचारमा कुकर बममार्फत भएको आक्रमणलाई आफ्नो हत्या प्रयासका रुपमा लिएका छन् । बम आक्रमणपछि लोकान्तरसँग कुराकानी गर्दै महतले जंगलको बीचमा आफ्नो हत्या गर्न खोजिएको बताए ।

‘मेरो पक्षमा रहेको जनसमर्थनबाट आत्तिएका मानिसले आक्रमण गरेका हुन् । जसले हिंसामा विश्वास गर्छ, जो मेरो लोकप्रियताबाट तर्सेको छ अनि जनतालाई आतंकित बनाउने प्रयास गर्छ, उसैले गरेको आक्रमण हो । हत्याको प्रयास हो,’ लोकान्तरसँगको कुराकानीमा महतले भने, ‘हत्या हिंसाको राजनीति नत्यागेकाहरूले व्यक्ति हत्याको प्रयास गरेका हुन् ।’

आक्रमण गर्नेको पत्ता लागेन 

प्रहरीका अनुसार आक्रमण योजनाबद्ध तरिकाले गरिएको हो । महत सोही बोटो भएर चुनावमा जाँदैछन् भन्ने आक्रमणकारीलाई पहिले नै थाहा थियो । र महत निस्किने समय पनि उनीहरुले थाहा पाएका थिए ।

‘घटनाको प्रकृत्ति हेर्दा योजनाबद्ध तरिकाले गरिएको जस्तो छ,’ महतको सुरक्षामा खटिएका शसस्त्र प्रहरीका एक जवानले भने, ‘कसको संलग्नता हो भन्ने त पत्ता लागेको छैन ।’