ख्याल ख्यालमै आफ्नै साथीको हत्या गर्ने दुई जना पक्राउ, एक फरार

612

जनकपुर – आफ्नो साथीको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजका १८ वर्षीय प्रदिपकुमार ठाकुरको हत्यामा संलग्न भएको आरोपमा ठाकुरका दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदिपका छिमेक साथी मिथिला नगरपालिका–२ बस्ने ३२ वर्षका रामदेव ठाकुर र २२ वर्षका मनोजकुमार महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अन्य संलग्न एक अभियुक्त २२ वर्षका सुनिल कुमार ठाकुर फरार रहेको जनाएको छ ।

गत आइतबार विहान प्रदीपको शव पूर्व पश्चिम राजमार्गको ढल्केवरबाट झण्डै ५ किलोमिटर पूर्व हरिहरपुर लालभित्ती प्रतिक्षालयको छेउमा हत्या गरेर फालेको  अवस्थामा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट प्रदीपको हत्या उनकै साथीहरुले गरेको खुलेको जनाएको छ ।

यसरी भएको थियो प्रदीपको हत्या

प्रदीप सिन्धुलीमा सैलुनमा काम गर्दै आएका थिए । विदेश जानलाई घर आएर चाँजोपाँजो मिलाउन उनी घर आएका थिए । हत्या आरोपमा पक्राउ परेका मुख्य अभियुक्त वीरेन्द्र यादव एजेण्टको काम गरिरहेकाले प्रदीपलाई विदेश पठाउन केहि दिन अघि एक कम्पनीमा कामको लागि जान अन्तर्वार्ता पनि दिएका थिए । अन्तर्वाता पास गराई दिन्छु भनि वीरेन्द्रले प्रदीपसँग १० हजार रुपैयाँ मागेका थिए । वीरेन्द्रले प्रदीपलाई विदेश पठाउन ८० हजार रुपैयाँमा कुरा गरेका थिए ।

गत शनिबार प्रदीपले अन्तर्वार्ता पास गराएको भनि वीरेन्द्रले मागेको १० हजार रुपैयाँ वुबासँग लिएर घरबाट निस्केका थिए । वीरेन्द्र कहाँ जाँदा प्रदीपलाई उनले १० हजार रुपैयाँ छोडीदिन्छु भनेका थिए । साथीहरुसँग घुलमिल हुँदै जाँदा ख्याल ख्यालमै वीरेन्द्र र मनोजले प्रदीपको घाँटी एकचोटी गम्छाले जोडले कसी दिएका थिए ।

त्यसपछि कसैलाई नभन्नु भनेर प्रदीपसँग उनीहरुले सपत खुवाएका थिए । तर पछि पुनः प्रदीपले कसैलाई भनिदेलाकी भनेर उनका साथीहरुले ढल्केवर जनकपुर सडकखण्डको ढल्केवरभन्दा झण्डै २ किलोमिटर तल एउटा मन्दिर नजिक राति १० बजे प्रदीपको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

त्यसपछि प्रदीपको शवलाई सडक दुर्घटनामा मरेको हो भनि पुष्टि गर्न त्यहाँबाट राति नै ना ४४ प ८८३१ नम्बरको मोटरसाइकलमा लगेर हरिहरपुर लालभित्तीको प्रतिक्षालय नजिक लगेर सडकमा फालेका थिए । गाडीले नकुल्चे पछि पुनः उनीहरुले प्रदीपको लासलाई सडक छेउमा फालेर भागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको भन्दै पक्राउ परेको आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुको साथबाट एउटा घटनामा प्रयोग भएको मोटरसाइकल र दुई वटा मोवाइल बरामद गरेको जनाएको छ ।