ठेकेदा मेयर बने तर स्वास्थ्य चौकीको भवन बनेन

327

बाजुरा – छेडेदह गाउपालिका–१ काँडा गाउँको स्वास्थ्य चौकीको भवन सात वर्ष अगाडि निर्माणको जिम्मा लिएका  राजनेन्द्र निमार्ण सेवाका सञ्चालक भीमबहादुर साउद मेयरमा निर्वाचित भएका छन् । तर स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीसँग २०६८ भाद्र २८ गते १५ महिना भित्र निर्माण गरी सक्ने सम्झौता भए पनि सात वर्षसम्म निर्माण भएको छैन ।

‘साउदले निर्माणको जिम्मा लिएदेखी उनको अनुहार समेत देख्न पाएका छैनौ’ काँडा स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले गुनासो गर्नुभयो  ‘सरकारी नियम अनुसार हामीले स्वास्थ्य सेवा दिन पनि कठीन छ । भवनै नभए पछि कसरी काम गर्ने ?’

चौकीको भवन नबन्दा गाउँका सेवाग्राही सबैलाई समस्या छ तर सबै भन्दा बढी समस्या महिलाहरुलाई भएको कुरा स्वास्थ्य चौकीका अनमी मनदेवी बुढाले बताउनुभयो । मनदेवीले भन्नुभयो ‘सुत्केरी हुन स्वास्थ्य चौकी आउने महिलाहरु समेत ठाउँ नभएका करण असजिलो मान्छन् । गर्भजाँच र केही परीवार नियोजनको कुरा गर्न समेत कोठाको अभावका कारण आउँदैनन् ।’

खप्तड छेडेदह गाउपालिका वडा नं १ काँडाका वडा अध्यक्ष वीरबहादुर रावलले गुनासो गर्नुभयो ‘ठेकादार आफू मेयर भए, उनको नगर त सुन्दर बनाउँलान् तर हाम्रो वडाको स्वास्थ्य चौकी कहिले बनाइदिने हुन् थाहा छैन ।’ भवन नबनेका कारण गाउँमा स्वास्थ्य सेवा लिन समेत कठिन भएको वडा अध्यक्ष रावल बताउँछन् ।