मस्कुलर डिष्ट्रोफि युवाको जिल्ला भ्रमण

325

बलराम प्यासी
काठमाडौं । स्वस्थ व्यक्तिको तुलनामा मांशपेशीको विकासमा क्रमशः कमी हुँदै जाने लक्षण भएका व्यक्तिलाई मस्कुलर डिस्ट्रोफि भएको भनिन्छ । शरीरमा मांशपेसीबाट बनेका मस्तिष्क बाहेक मुटु, फोक्सो, मिर्गाैला, कलेजो र शरीरका अन्य भागमा भएको मांशपेशीले काम नगरेर मांसपेशीको शक्तिमा कमी हुँदै जान थालेपछि मस्कुलर डिस्ट्रोफि हुनेगर्छ ।
मांशपेसीले काम गर्न छोडेपछि जोसुकैलाई पनि मुटु, फोक्सो, मिर्गाैला र कलेजोलगायतका रोगले जतिखेर पनि आक्रमण गरि कुनैपनि समयमा मृत्यु हुने गरेको पाइएको छ ।

यस्ता लक्षण भएका भक्तपुरका ४ र काभ्रेका २ गरि ६ जना ह्विलचियर प्रयोगकर्तालाई विभिन्न ठाउँको भ्रमण गराइनुका साथै चन्द्रागिरी केवलकारमा समेत यात्रा गराइएको छ ।

मस्कुलर डिस्ट्रोफि चाइल्ड केयर सोसाइटी भक्तपुरका अध्यक्ष हिमालयश्वर लाल मुलका अनुसार सो संस्थामा रहेका ३ जना ह्विलचियर प्रयोगकर्ता र अन्य ३ जनालाई सिन्धुपाल्चोकको चौतारा, गौरा भिमसेन, कुलेखानीको इन्द्र सरोवर र दामनको दृष्यावलोकन गराइनुका साथै चन्द्रागिरी केवलकारमा यात्रा गराइएको हो । सो संस्थामा आवद्ध भएका ८ जनामध्ये ५ जनाको अकालमै मृत्यु भईसकेको अवस्थामा बाँकी रहेकालाई मनोरञ्जन र दृष्यावलोकनका लागि घुमाउन लगेको अध्यक्षले मुलले बताए ।

सो संस्थामा आवद्ध रहेका मस्कुलर डिस्ट्रोफि भएका युवाहरुले बनाएका चित्रकलाहरु विक्री गरी स्वआर्जन गर्दै आएका छन । संस्थाले उनीहरुलाई दैनिकजसो खेलकूद, मनोरञ्जन र शारिरीक अभ्यासको साथै फिजियोथेरापि गराउने गरेको छ । उनीहरुको मानसिक अवस्था भने अन्य स्वस्थ व्यक्तिको जस्तो स्वस्थ हुने अध्यक्ष मुल बताउँछन ।