चुनावको संघारमा नक्कली नोटको बिगबिगीे

423

म्याग्दी  — आगामी हप्ता हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मुखैमा म्याग्दीमा दिनहुँजसो नक्कली नोट भेटिन थालेको छ ।

सदरमुकाम बेनीमा रहेका बैङ्क, वित्तीय संस्था, सहकारी, पसलहरुमा दैनिकजसो नक्कली नोट भेटिन थालेको हो । पछिल्लो एक हप्ता यता बेनीका बैङ्क, वित्तीय संस्था, सहकारीहरुमा एउटै नम्बरको एक हजार रुपैयाको नक्कली नोट भेटिएको छ ।

सबै ठाउँमा भेटिएको नोटको नम्बर (च २५) ४३६१३३ रहेको छ । ग्राहक मार्फत नक्कली नोट बैङ्क, सहकारी सम्म पुगेको हो । माछापुच्छ्रे बैङ्कको बेनी शाखामा गत सोमबार यता ग्राहकले पाँच वटा नक्कली नोट ल्याएका छन् ।

“ग्राहकले बचत गर्न ल्याएको नोट शंका लागेपछि परिक्षण गर्दा नक्कली भएको पुष्टि भयो” माछापुच्छ्रे बैङ्कको शाखा प्रबन्धक श्रीधर ढुङ्गानाले भने “नक्कली नोट संकलन गरेर नेपाल बैङ्कलाई उपलब्ध गराउदै छौ ।”

सोमबार गरिमा विकास बैङ्क, प्रकाश मावि, लोकदिप सहकारी, किराना पसलमा भेटिएको नक्कली नोटको प्रकृती पनि एउटै छ । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको समयमा पनी बेनी अस्पतालको फार्मेसीमा पाँच सय रुपैयाको एउटा नक्कली नोट भेटिएको थियो ।
आर्थिक कारोबार गर्ने सबै संस्थासंग नोट परिक्षण गर्ने मेसीन नहुँदा समस्या भएको छ । बैङ्कहरुमा भने नोट परिक्षण गर्ने मेसीन राखेका छन् । गरिमा विकास बैङ्कको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले चुनावको समयमा नक्किली नोट भेटिनुले शंका उत्पन्न गराएको बताए ।

“बैङ्कमा परिक्षण गर्ने मेसीन भएकाले नक्कली भएको पुष्टि हुनेवित्तकै खिचेर राखेका छौ” उनले भने “सर्वसाधारणले कारोबारमा सर्तकता अपनाउन आवश्यक छ ।”   नक्कली र सक्कली नोट पहिचान गर्न नसक्ने, ठूलो रकम कारोबार गर्न ग्राहक मार्फत नक्कली नोट बैङ्कमा आउन थालेको हो ।

नक्कली नोटमा लालीगुरासको तस्बिर, नेपाल राष्ट्र बैङ्कको छोटकरी रुप एनआरबी देखिदैनँ । कतिपय सन्दर्भमा नोट छामेर पनि पहिचान गर्न सकिने बैङ्क कर्मचारी बताउँछन् । प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले दैनिकजसो नक्कली नोट भेटिएको घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान सुरु गरेको बताईन् ।

सुरक्षा निकायको ध्यान चुनावमा केन्द्रित भएको समयमा नक्कली नोट बजारमा आउन थालेकाले गिरोहनै सक्रिय भएको अनुमान गरीएको खड्काले बताईन् । “बढी आर्थिक कारोबार हुने चाडपर्व र चुनावको समयमा नक्कली नोटका गिरोह सक्रिय भएको हुन सक्छ” उनले भनिन् ।
कतिपयले चुनावमा मत खरिद बिक्रीका लागि समेत नक्कली नोट प्रयोग हुन सक्ने आशंका गरेका छन् ।