सेटिङमा भक्तपुरको बालुवा चोरी

499

भक्तपुर : भक्तपुर र काठमाडौं जिल्लाको सीमाना भएर बग्ने मनहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् तीव्र बनेको छ । प्रहरी प्रशासनको संरक्षणमा मनहरा खोलाबाट अवैध रूपमा बालुवा निकालिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । खोलाबाट बालुवा चोरी भएको जानकारी गराउँदा पनि त्यसको नियन्त्रणमा ध्यान नदिएपछि प्रहरी प्रशासनको संरक्षण एवं सेटिङ रहेको पुष्टि भएको स्थानीयको दाबी छ । उनीहरूका अनुसार प्रहरीको जिम्मा लगाएको चोरीको बालुवासमेत जिल्ला समन्वय समिति भक्तपुरसम्म नपुगेबाट पनि मनहरा खोलाबाट बालुवा चोरीमा प्रहरीको सेटिङ रहेको प्रष्ट भएको चाँगुनारायण नपा १ का वडाका सदस्य माधव न्यौपाने बताउँछन् ।

राति ओसार्न मनहरा खोला दायाँबायाँ दर्जनौं ठाउँमा बालुवा जम्मा गरिएको छ । यस्तै बालुवा ओसार्न प्रयोग गरिएका गाडी गुडेका छाप जताततै पाइन्छ । केही ठाउँमा मजदुर दिउँसै खोलामा बालुवा जम्मा गर्दै गरेको भेटिएका छन् । चाँगुनारायण नपा १ र ४ तथा काठमाडौंको मूलपानी सीमामा पर्ने मनहरा खोलाका दर्जनौं ठाउँबाट अवैध रूपमा बालुवा निकाल्ने काम भइरहेको स्थानीय बताउँछन् । ‘रातभर मनहरा खोलातर्फ बालुवा बोक्ने ट्रक गुड्छन्’, चाँगुनारायण नपा १ वडाका अर्का सदस्य उद्धव खड्का भन्छन्, ‘बालुवा चोरी हुनेबारे प्रहरीलाई जानकारी दिँदादिँदा हामी नै थाकिसकेका छौं । प्रहरीलाई फोन गर्‍यो, प्रहरी आउँदैन, उल्टै बालुवा तस्कर घरमा धम्की दिन आइपुग्छन् ।’

बालुवा तस्करले ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि स्थानीय बासिन्दा मौन बस्न बाध्य भएको उनी बताउँछन् । प्रहरीको सेटिङमा बालुवा चोरी भइरहेकोबारे सञ्चार माध्यममा जानकारी दिएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उल्टै स्पष्टीकरण दिनुपरेको वडा सदस्य खड्काले गुनासो गरे । ‘प्रहरीको सेटिङमा बालुवा चोरी भएको भनेर सञ्चार माध्यममा बोल्यो भनी महानगरीय प्रहरी परिसरले बोलाएर मसँग स्पष्टीकरण लियो’, उनले भने, ‘प्रहरीले मिडियामा बोलेको कुराको खण्डन गर्न दबाब दियो । मैले साँचो बोलेको हो, खण्डन गर्दिन दोषीलाई कारबाही गर भन्दा प्रहरीर्ले तिमीले सिकाइरहन पर्दैन भन्दै धम्क्याए ।’

प्रहरी प्रशासन र जिल्ला समन्वय समितिको खानी शाखामा बस्ने कर्मचारीलाई अवैधरूपमा बालुवा चोरी निकासी गर्ने एकएक जानकारी भएको खड्काको दाबी छ । चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले भने, ‘उनीहरूको सेटिङ नभएको भए मनोहरा खोलाबाट मात्रै होइन खानीबाट समेत किन निरन्तर बालुवा चोरी भइरहेको छ ।’

नपाका कारण चोरी तीव्र : स्थानीय

स्थानीयले भने चाँगुनारायण नपाले पहिले ‘डम्प’ भएर बसेको बालुवा बेच्न स्वीकृति दिएपछि बालुवा चोरी तीव्र भएको बताएका छन् । नगरपालिकाले दुई महिनाअघि डम्प भएर रहेको बालुवा बिक्री गर्न स्थानीय खानी सञ्चालकलाई स्वीकृति दिएको थियो । नपाले डम्प भएको बालुवाको नापजाँचपछि बालुवा बिक्री गर्न रसिदको व्यवस्था गरेको थियो ।

नपाले स्वीकृत गरेको सोही रसिदको आडमा माफियाले मनहरा खोला र खानीबाट अवैध रूपमा बालुवा निकालेको स्थानीय बताउँछन् ।
‘रातभर मनहरा खोलाबाट बालुवा चोरेर डीपोमा जम्मा गरिन्छ’, एक स्थानीयले भने, ‘दिउँसो त्यही बालुवा नपाले स्वीकृति दिएको डीपोको रसिदमार्फत बिक्री वितरण हुन्छ ।’

नियन्त्रण गरेका छौं : प्रहरी

महानगरीय प्रहरी परिसर भक्तपुरले भने चोरीको बालुवा नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाउँदै आएको बताएको छ । परिसरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले अहिलेसम्म अवैध रूपमा बालुवा ओसार्ने २७ वटा ट्रक नियन्त्रण गरी कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको बताइन् । उनले स्थानीय जनता प्रहरीलाई दोष दिएर आफू पन्छिने आरोप लगाइन् ।

उनले बालुवा चोरी रोक्ने काम प्रहरीको मात्रै नभएको भन्दै जिल्ला समन्वय समिति र नगरपालिका बढी जिम्मेवार हुने बताइन् । ‘बालुवा चोरी रोक्ने जिम्मेवारी प्रहरीको मात्रै होइन’, उनले आक्रोशित हुँदै भनिन्, ‘प्रहरीले कहाँमात्र हेर्ने ? शान्ति सुरक्षा हेर्ने कि बालुवा कहाँबाट चोरी निकासी भइरहेको छ भनी लाग्ने ? ‘

चोरीको बालुवा नआएको दाबी

जिल्ला समन्वय समितिले पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिएको कुनै पनि बालुवा आफूलाई नबुझाएको दाबी गरेको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिससकहाँ कुनै बालुवा नबुझाइएको दाबी गरे । ‘जिससले कुनै पनि खानीलाई बालुवा उत्खनन्का लागि स्वीकृति दिएको छैन’, उनले भने, ‘प्रहरीले हामीलाई कुनै अवैध बालुवा बुझाएको पनि छैन ।’ स्थानीयका अनुसार बिहान र दिउँसो निष्क्रिय हुने बालुवा माफिया साँझ पर्न थालेपछि सक्रिय हुने गरेका छन् ।

साँझ ६ देखि बिहान ६ बजेसम्म बालुवा चोरी गर्नेको सक्रियता बढ्ने उनीहरू बताउँछन् । रातभर मनहरा खोलाबाट निकालिएको बालुवा नजिकै रहेको डीपोमा जम्मा गरिने स्थानीय बताउँछन् । उनीहरूका अनुसार साना गाडीले बाटोमा झारेको बालुवा टिपरमा राखेर काठमाडांै लगिन्छ । केही टिपरले नजिकै वा टाढा रहेका डिपोमा बालुवा झार्ने गरेको स्थानीयको भनाइ छ ।