राजनैतीक शुद्धिकरणकालागि लोकतान्त्रिक गठबन्धनको विकल्प छैन

2157

अंगत खड्का
नेपाली कांग्रेस प्रदेश सभाको उम्मेदवार
सूर्यबिनायक न.पा १० चित्तपोल

अंगत खड्का,हाल नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का कोषाध्यक्ष हुन् । कांग्रेस परिवारमा हुर्केका खड्का २०४८साल देखि नै नेपाल बिद्यार्थी संघबाट सक्रिय राजनीति सुरु गरेका हुन । ब्यबसाय क्षेत्रमा निकै सफल खड्का विभिन्न सामाजिक क्रियाकलापमा नै सक्रिय रहँदै आएका छन् । विभिन्न संघसंस्थाको माध्यमबाट समाज सेवा पुरयाउँदै आएका खड्का आफ्नो ब्यवसायमा पनि एक सफल ब्यवसायी हुन् । विदेश गएर हुन्न नेपालमा नै मिहेनत गरि केहि गर्न सकिन्छ भन्ने अवधारणका साथ अन्य युवाहरुलाई पनि उनी ब्यवसायका पाठ सिकाउने गर्दछन् । आसन्न निर्बाचनमा प्रदेश नं. ३ अन्तर्गत भक्तपुर क्षेत्र नं. २क सूर्यबिनायक नगरपालीका क्षेत्रको नेपाली कांग्रेसबाट प्रत्यक्ष तर्फको उमेद्वार हुन् । यसै निर्बाचनको सेरोफेरोमा रहेर खड्कासँग गरिएको कुराकानीः

तपाइँ आफ्नो परिचय कसरी दिनुहुन्छ?
म अंगत खड्का। मेरो घर तात्कालिन चित्तापोल गा बि स,अहिलेको सूर्यबिनायक नगरपालीका वडा नं.१० हो । राजनीतिक पृष्ठभूमी भन्नू पर्दा २०४८ सालदेखि क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरी हालसम्म सक्रिय रही भक्तपुर क्षेत्र नं.२को कोषाध्यक्ष रहेको छु । होटल,रेष्टुरेन्ट ब्यबसायमा सक्रिय रहेको छु । त्यस बाहेक विभिन्न सहकारीमा प्रत्यक्ष आबद्ध छु । विभिन्न सामाजिक संघसंस्थासँग आबद्धरही सामाजिक क्रियाकलापमा सक्रिय रहेको छु । अहिले पार्टीले प्रदेश सभा निर्वाचन अन्तर्गत सूर्यबिनायक नगरपालीका क्षेत्रको लागि टिकट दिएको छ । त्यसैले प्रदेश सभाको लोकतान्त्रिक गठबन्धनको उमेदवार हूँ ।

पार्टीले पत्यायो हगि तपाइँलाई?
मैले सक्रिय राजनीतिमा क्रियाशिल रहेर पार्टीलाई माथी उठाउन योगदान पुर्याउँदै आएको छु । समाजसेवामा र ब्यबसायमा पनि सक्रिय रही आएको छु । अन्य दलका कार्यकर्ताहरूलाई मनाउन सक्ने खुबि म मा छ । यो कुरा बुझेरै पार्टीले मलाई पत्याएको छ । अहिले म पार्टीलाई प्रदेश र प्रतिनिधि सभामा जिताउन तल्लिन भएर लागि परेको छु ।

घरदैलो सुरु भयो त?
अँ हाम्रो घरदैलो सुरु भै सकेको छ । सूर्यबिनायक नगरपालीकाका वडाहरूमा क्रियाशिल भेला,रणनैतिक गोष्ठी ,सुभेच्छुकहरूसँगको भेटघाट र जनताको घरदैलो सम्म पुग्ने काम भैरहेको छ ।

राजनैतिक अबस्थाले नयाँ मोड लिएको छ । यसलाई तपाइँले कसरी लिनु भएको छ?
साँच्चै राजनैतिक अबस्था जटिल मोडमा आइपुगेको छ । बामपन्थीहरूको गठबन्धनले राष्ट्रको निकास निस्किने कुनै छाँट देखिदैन । राष्ट्रिय मुद्दामा सहमति नहुने बाम घटकहरूले सत्तामा पुग्नकालागि नेपाली कांग्रेसको बिरुद्धमा गरिएको मोर्चा बन्धि मात्र हो । बाम गठबन्धनका कारण लोकतन्त्रबादीहरू एक हुने बेला आएको छ ।यसैको परिणाम नेपाली कांग्रेसको नेत्तृत्वमा लोकतन्त्रबादीहरूलाई एक ठाउँमा ल्याएर साझा उमेदवार उठाउने काम भएको छ ।

स्थानीय निर्बाचनको प्रभाब पर्ने देखिन्छ कि तपाइँको क्षेत्रमा?
दुई दशक पछि भएको स्थानीय निर्बाचनमा भक्तपुरमा हाम्रो पराजय हुन पुग्यो । यसमा हामी अरु दल भन्दा अघि थिया । हामी हाम्रो जीत सुनिस्चित जस्तै देखेर आफूभित्र अहमती पाल्यौं । फलस्वरुप बिपक्षीहरूले भक्तपुरमा कांग्रेसलाई जीत्न दिनु हुन्न भनेर कांग्रेसका बिरुद्ध मोर्चा बन्धि गरे । उनीहरूको रणनीति सफल पनि भयो । अहिले हामी एक भैसकेका छौं । पराजयबाट पाठ सिकेर त्यहि अनुपको रणनीति बनाएर चुनाबमा होमीएका छौं । त्यसैले स्थानीय निर्बाचनको प्रभाव पर्ने देखिदैन ।

बाम गठबन्धनको उमेद्वारले बाजि मार्ने हल्ला सुनिन्छ नि बजारमा त?
सुनिने हल्ला हल्ला मात्रै हुन्छ र सत्य फरक हुन्छ । स्थानीय निर्बाचनमा सबै पार्टी मिलेर ल्याएको मत र कांग्रेसले ल्याएको मतमा धेरैको अन्तर देखिदैन । बाम गठबन्धन हुँदा पनि रा प्र पा हामीसँग भएका कारण हामी माथी छौं । हामी गड्यौलालाई गोमन देख्दैनौं । हल्ला गर्नेहरूले देख्ने हुन ।

कांग्रेस आफ्नै कारण चुनाब हार्छ भनिन्छ ।यो चुनाबमा पनि त्यस्तै होला त?
यसमा खासै सत्यता भेट्दिन । बाम गठबन्धनले कांग्रेसलाई एक बनाई दिएको छ । आफू भित्रको मनमुटाब हटिसकेको छ । अन्य लोकतान्त्रिक शक्तिहरूलाई एक बनाउन लागिपरेको छ । यसपाली पनि नेपाली कांग्रेस पहिलो पार्टी बन्नेछ ।

सन्दर्भ जोडौं तपाइँकै क्षेत्रको ,मतदाताले भोट चाहिँ तपाइँलाई नै किन दिने?
भोट मेरो मुख हेरेर हैन कांग्रेसको रुख हेरेर भोट दिन आग्रह गर्दछु । देशका लागि कांग्रेले कति गर्यो बुझेर लोकतन्त्रको रक्षाकालागि रुख चिन्हमा छापलगाई नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्दछु । रह्यो कुरा मेरो क्षेत्रको ,माननीय सभासद रामेश्वर ढुंगेल ज्यूले सभासद कोषबाट प्रप्त १२ करोड भन्दा बढी रकम सडकको स्तरोन्नति,ढलको ब्यबस्था, खानेपानी लगायतमा यसै क्षेत्रमा कांग्रेसको तर्फबाट खर्च गर्नु भएको छ । अन्य शीर्षकहरूलाई रातो किताबमा पार्ने काम भएको छ । काम गर्ने कालू मकैखाने भालु भएको छ ।
बिपक्षीहरू जस लिन र जनता झुक्याउन सिपालु छन् । कांग्रेस हावा कुरा गर्न भन्दा काम गरेर देखाउने पार्टी हो । जनता समक्ष यहि लिएर गएका छौं । मैले गरेको सामाजिक क्रियाकलाप, बिकास निर्माणमा दिएको योगदानबाट पनि परिचित हुनुहुन्छ ।
त्यसैले मतदाताहरू काँग्रेसलाई नै जिताउन लालाईत हुनुहुन्छ ।

प्रतिनिधि सभाका उमेद्वार भक्तपुरसँग परिचित हुनुहुँदैन भन्छन् नि?
यो बिपक्षीहरूले लगाएको आरोप मात्र हो । उहाँको उमेद्वारीले साठी प्रतिसत बिपक्षीको मनोबल गिरिसकेको अबस्थामा बर्बराएका मात्र हुन् । विद्यार्थी निकेतन हुँदै पद्मबाट प्रबेसिका पास गर्नुभएका दमननाथ ढुंगाना ज्यूको पुख्र्याैली घर पनि भक्तपुरकै चाँगुनारायण हो । पार्टीले उहाँमा केही देखेरै भक्तपुर क्षेत्र नं.२ मा उमेद्वार बनाएर पठाएको छ ।

ब्यबसायी पनि हुनुहुन्छ । आर्थीक लाभका लागि उमेद्वार बन्नु भएको त हैन?
राजनीतिलाई शुद्धिकरण गर्नु छ । राजनीतिलाई व्यापार र जागिर बनाउने प्रबृतिको अन्त्य हुनुपर्छ भनेर राजनीतिमा सक्रिय रहेको छु । रह्यो कुरा आर्थिक लाभको मैले बिजय हाशिल गरिसकेपछि राज्यबाट पाउने सुबिधा लिने छैन । आउने आर्थिक चिजहरू यसै क्षेत्रको बिकासमा लगाउनुका साथै आफ्नै ब्यबसायबाट केही प्रतिसत रकम पनि यसक्षेत्रको बिकासमा लगाउने प्रण गर्दछु ।

अन्त्यमा
सबै मिली लोकतन्त्रको रक्षा र देशको आर्थीक समृद्धिका लागि रुख चिन्हमा भोट हाली लोकतान्त्रिक गठबन्धनका उमेद्बारहरू प्रतिनिधि सभा तर्फ दमननाथ ढुंगाना र प्रदेश सभा अन्तर्गत सूर्यबिनायक नगर क्षेत्रमा म अंगत खड्कालाई अत्याधिक मतले बिजय गराउन हुँन हार्दिक अपिल गर्दछु ।