भक्तपुरमा एकैपल्ट ६५ जनाको सामुहिक विवाह

402

 भक्तपुर । नेवार कन्या कुमारीहरुलाई ५ देखि ९ वर्षको उमेरमा गरिने बेल विवाह कर्म हिजो भक्तपुरका सात स्थानहरुमा एकैपल्ट सम्पन्न भयो ।

बुधबार दुस्वः र बिहिबार पिस्वः गरी प्रारम्भिक दिन र समापन दिनको रुपमा दुई दिनसम्म बेल कर्ममा लगाइने विशेष फरिया, चोलो सहित सजि सजाउ गरेका कन्या कुमारीहरुको सामुहिक बेल कर्म सम्पन्न भएको हो ।

समाज सेवा समिति याछेँले १३ वर्ष अगाडि देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सामुहिक बेलकर्म अन्तर्गत यो वर्ष ६५ जनालाई बेलबिवाह गराइदिए ।

इशिका शिल्पकारलाई मूल ब्यक्ति बनाएर सुरु भएको सो कार्यको कजि राजेन्द्र हाम्वः, लिउ कजि राजकुमार हाम्वः रहनु भएको आयोजकले जनाएको छ ।

आयोजक समितिका सल्लाहकार बाबुकाजी रञ्जितले दिनु भएको जानकारी अनुसार मितब्ययिता अपनाएर कम खर्चमा सो बेलकर्म सम्पन्न गर्न सामुहिक बेलकर्म आयोजना गरेको हो ।

  नकिंका लागि २४ सय र अन्यका लागि १२÷१२ सयमा सो बेलकर्म सम्पन्न गरेको थियो । राजोपाध्याय बाहुन लवकुश राजोपाध्यायले कर्म गरी सो दुई दिने बेलकर्म सम्पन्न भएको थियो ।

त्यसैगरी बेखालमा पनि पार्वती दुवालको आयोजनामा ५० जना कन्या कुमारीहरुको सामुहिक बेलकर्म भयो । सो स्थानमा विपश्यना दुवाल (९ वर्ष) लाई मू नकिं बनाएको थियो ।

आचाजु लक्ष्मीप्रसाद कर्माचार्यले सम्पूर्ण पूजा पाठ गर्नु भएको थियो ।  सानो औद्योगिक क्षेत्र ब्यासीमा भने कृष्णभक्त सुवाल आयोजक बनी सामुहिक बेलकर्म भएको थाहा भएको छ ।

त्यसैगरी हिजै बेखाल, भार्वाचो, ब्यासी, चासुखेल, सूर्यमढी र द्यःक्वचा क्षेत्रमा पनि सामुहिक बेल बिवाहको कार्य सम्पन्न भएको थियो । नेवाः समुदायमा बेलकर्मको ज्यादै महत्व छ ।