गठबन्धनलाई भोट माग्ने अधिकार छैन : सुवाल

300

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले नेपाली काँग्रेस, एमाले र माओवादीलाई भोट माग्ने अधिकार नभएको बताएका छन् ।

चुनाव जित्नका लागि नेपाली काँग्रेस र राप्रपाबीच र एमाले र माओवादीलगायतका पार्टीहरु गठबन्धन गरी जनताको घरदैलोमा आएका ती दुई गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार नभएको बताएका हुन् ।

मंसिर २१ गते हुने प्रतिनीधिसभा र प्रदेश सभाको चुनावको क्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको बाला टोलमा पुगेका उम्मेदवार सुवालले जसरी भए पनि चुनाव जित्ने र सरकारमा जाने दाउमा रहेका पार्टीहरुले देश र जनताको हितमा कुनै पनि काम नगरेको बताउँदै जनताको हितमा काम नगर्ने पार्टीलाई जनतासँग भोट माग्ने अधिकारसमेत नरहेको बताए ।

‘सरकारमा जाने तर जनताको हितमा कुनै पनि नीति नबनाउने, भ्रष्टाचारलाई बढावा दिने, राजनीतिमा गुण्डागर्दी भित्र्याउने चरित्रका नेपाली काँग्रेस, एमाले र माओवादीहरुलाई भोट माग्ने अधिकार पनि छैन’ उनले भने, ‘ उनीहरु कुन नैतिकताले जनताको घरमा पुगिरहेका छन् भन्ने मतदाताले बुझ्नु आवश्यक छ ।’
कार्यक्रममा उनले नेपाल मजदुर किसान पार्टीले जनताको पक्षमा सडक र सदन दुबैमा संर्घष गरी जनताको पक्षमा नीति बनाउन लागिरहेकोले नेमकिपालाई मत दिनुपर्ने आवश्यकता पनि औंल्याएका थिए । ‘चुनावमा पैसा खर्च गर्ने उम्मेदवारहरु भ्रष्टाचारी र भारतीय दलाल हुन्, उनीहरुलाई भोट दिनु देश डुवाउनका लागि लाइसेन्स दिनुसरह हो ।’ उनले भने ।

भेलामा प्रदेशसभा १ चाँगुनारायणका उम्मेदवार नीरज लवजूले देशलाई अफ्ठ्यारो परेको बेलामा एमाले, काँग्रेस र माओवादीका नेताहरुले केही बोल्न नसकेको सन्दर्भ उठाउँदै ती दलहरुलाई मत दिन नहुने बताए ।
भेलामा उनले नेपाल मजदुर किसान पार्टीले चुनावलाई जनताको सेवा गर्ने अवसरको रुपमा उपयोग गरेकोले जनताको सिपाही भएर जनताकै पक्षमा आफू लडिरहने बताए । उनले चुनावको क्रममा एमाले, माओवादी, नेपाली काँग्रेसले मतदाताहरुलाई विभिन्न प्रलोभन देखाउने, धाकधम्की देखाउने, प्रभावमा पार्ने जस्ता निर्वाचन आचारसंहिताविपरीतका कामहरु गर्ने गरेको उल्लेख गर्दै मतदाताको मत किन्न आउने दलका उम्मेदवारहरुमा राजनीतिक संस्कारको अभाव रहेको बताए ।

सोही भेलामा नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, विचारबारे जनतालाई बुझाएर मत लिने गरेको भनाइका साथ नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सत्तामा जाने दलको चुरीफुरी तोडेर जनतालाई सास्ती दिने कामको अन्त्यका लागि पनि नेपाल मजदुर किसान पार्टीको जीतको अपरिहार्यता रहेको बताए ।
आयोजक नेमकिपा चाँगुनारायण नपा वडा नं. ९ ताथलीका उपाध्यक्ष एकबहादुर खत्रीको सभापत्विमा भएको भेलामा आयोजक समितिका सचिव घनश्याम खड्काले पनि नेमकिपालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।