रोम्बसमा प्रगतिशील कविता प्रतियोगिता

442

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित भक्तपुर रोम्बस सेकेण्डरी स्कुलले माविस्तरीय कविता प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा द कन्ट्रीसाइड स्कुलकी छात्रा निकी केसी प्रथम भएकी छन् । त्यस्तै दोस्रो र तेस्रो भने क्रमशः मनकामना स्कुलका सुधीर पुरी र क्रियटिभ एकेडेमीका छात्र विष्णु श्रेष्ठ भए ।

विद्यालय स्थापनाको चौथो वर्ष प्रवेश तथा विद्यार्थीहरुमा साहित्यप्रति अभिरुचि बढाउने उद्देश्यका साथ आयोजित सो प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रगतिशील र सामयिक विषयमा रचिएका कविता वाचन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले विद्यालयहरुले साहित्य प्रतियोगिताभन्दा बढी अन्य प्रतियोगिता गर्ने गरिएको कारण विद्यार्थीमा साहित्यप्रतिको रुचि कम हुँदै गएको आभाष भएपछि विद्यार्थीमा साहित्यिक अभिरुचि बढाउन सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रममा कन्ट्रीसाइड स्कुलका प्रिन्सिपल कृष्णप्रसाद तिमल्सिना, रोम्बस स्कुलको अतिरिक्त क्रियाकलाप विभागका प्रमुुख गणेश प्रधान, विद्यार्थी कुसुम भण्डारीले कविता वाचन गरेका थिए । कविताको मूल्यांकन सञ्चारकर्मी एवं स्रष्टा हरिसुन्दर छुकांले गरेका थिए ।