मतपेटिका सुरक्षा : ६ सिल ३ ताला, चाबी आयोगसँग, हुँदैन धाँधली !

243

काठमाडौं -आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरण निर्वाचनपछि मात्रै हुने भएपछि यसको सुरक्षामा चुनौती र चिन्ता देखिएको छ । दुवै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै एकसाथ मत गणना गरिने भएकाले १२ दिनसम्म पहिलो चरणको मतपेटिका विश्वसनीय ढंगबाट सुरक्षित राख्नेबारे आयोगले अझैसम्म विस्तृत सुरक्षा योजना तय गर्न सकेको छैन ।

तर, मतपेटिका सुरक्षाका लागि सिल र ताला भने बलियो बनाइएको आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरूको रोहवरमा राखिने मतपेटिकामा दलले चाहे २४सै घण्टा आलोपालो गरी पहरा दिन सक्नेछन् । आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनमार्फत मतदाताको मताधिकारको सदुपयोग भइसकेकाले अब मतगणना नहुन्जेलसम्म मतपेटिकाको सुरक्षा गर्ने दायित्व आयोगको भएको बताए, राजधानी दैनिकमा खबर छ  ।

निर्वाचन सम्पन्न भएलगत्तै बाट मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकाम लैजाने क्रम सुरु भएको र मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूकै प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने प्रवक्ता ढकालले जानकारी दिए । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि एक किसिमका मतपेटिका र समानुपातिक प्रणालीका लागि अर्को किसिमको मतपेटिका प्रयोग भएकाले सुरक्षाका लागि समेत त्यसैअनुसारको रणनीति अपनाइएको बताए ।

प्रत्यक्ष र समानुपातिक बेग्लाबेग्लै कोठामा मतपेटिकालाई सकेसम्म प्रदेशसभा, प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको र समानुपातिकतर्फको अलगअलग कोठामा राख्ने व्यवस्था गरिएको छ । यसरी मतपेटिकाको व्यवस्थापन गर्दा सकेसम्म ओस नपर्ने, मुसाले नखाने र एक ढोका भएका तथा भित्री भवनहरू  प्रयोग भएको आयोगले जनाएको छ । सानो मतपेटिकामा मतदान हुनुअघि ६ वटा सिल र मतदान भइसकेपछि प्वालमा १ वटा गरी ७ वटा सिल लगाइएको तथा ठूलो मतपेटिकामा मतदान हुनुअघि ४ वटा र सम्पन्न भएपछि मतदान भएको प्वालमा २ वटा गरी ६ वटा सिल लगाइएको समेत अर्यालले जानकारी दिए ।

यसरी जिल्ला सदरमुकाम पु¥याइएका मतपेटिकालाई एउटा कोठामा दलका प्रतिनिधिसहितको रोहवरमा एकदेखि तीन वटासम्म ताल्चा लगाई लाहा छाप लगाएर राखिनेछ । यसरी लाहा छाप लगाउँदाको मुचुल्कामा सबै सम्भव भएसम्मका दलका प्रतिनिधिसमेत राखेर सहीछाप गरिनेछ । ताल्चा बन्द गरेपछि सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले बन्द गरिएका ताल्चाको चाबी राख्ने आयोगले जनाएको छ ।