कांग्रेसले जोगाउन सकेन दुबै राप्रपालाई

297

 

भक्तपुर । अन्तिम मत परिणाम त यसै भन्न सकिन्न, तर राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा जस्तै राप्रपा अध्यक्ष कमल थापापनि पराजयको संघारमा पुगेका छन्। लोकतान्त्रिक गठबन्धनमा आवद्ध दुवै राप्रपा उम्मेदरवारहरु पराजयका डिलमा पुगेका छन्। वामगठबन्धनको समर्थन पाएका राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन भने कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई निकै ठूलो मतान्तरका साथ पछि पारिरहेका छन्।
राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणा सिन्धुपाल्चोक–२ मा वामगठबन्धनका उम्मेदवार एमालेका शेरबहादुर तामाङबाट ८ हजारको मतान्तरले पराजित भए। लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी पाएका राप्रपा प्रजातान्त्रिक) का तीनै जना महामन्त्रीहरु पनि वामगठबन्धनका उम्मेदवारहरु भन्दा पछाडि छन्। चितवन–३ मा बिक्रम पाण्डे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कठिन प्रतिस्पर्धा गरिरहेका छन्।

रुपन्देही–३ मा पनि अर्का महामन्त्री दीपक बोहोरालाई एमाले उम्मेदवार घनश्याम भूषालले निरन्तर पछाडि पारिरहेका छन्। उता पूर्वी पहाडी जिल्ला धनकुटामा राप्रपा (प्रजातान्त्रिक) अर्का महामन्त्री सुनिलबहादुर थापा आफ्ना पिताको राजनीतिक विरासत जोगाउन सक्ने स्थितिमा छैनन्। त्यहाँ उनी एमालेका राजेन्द्र राईसँग बढि मतान्तरले पछाडि परेका छन्।

यस्तै विजोग स्थिति कमल थापा नेतृत्वको राप्रपाको छ। कांग्रेसको समर्थनमा मकवानपुर–१ को उम्मेदवार बनेका थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहाल भन्दा चार हजार मतान्तरले पछाडि छन्। थापा ‘रिस्क जोन’ मा प्रवेश गरिसकेका छन्।
लोकतान्त्रिक गठबन्धन अन्तर्गत राप्रपाबाट काठमाडौं–७ मा बिक्रमबहादुर थापा, दैलेखमा दीपकुमार शाही, बाँके–२ मा मोहनप्रकाश आजादले उम्मेदवारी पाएका छन्। तर कुनै पनि क्षेत्रमा उनीहरुको अग्रता छैन। यसैगरी लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका मध्ये म्याग्दीमा भीमप्रकाश गौचन र धादिङमा डम्बर तामाङ वामगठबन्धनका उम्मेदवारहरुसँग पराजित भइसकेका छन्।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका दुबै राप्रपाका उम्मेदवारहरु पराजयको डिलतर्फ लम्किरहँदा वामगठबन्धनको समर्थन पाएका राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले भने कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई झापा–३ मा लगातार पछि पारिरहेका छन्।