मुटुरोग, मस्तिष्कघात र मिर्गौला फेल गराउने मुख्य कारण नै उच्च रक्तचाप हो । धेरैमा रक्तचाप जाँचिरहने बानी हुँदैन । किनकि रक्तचाप बढ्दै गइरहँदा यसको खास लक्षण हुँदैन ।
उच्च रक्तचाप भएको दुई–तीन वर्षमा समस्या देखिन थाल्छ । रक्तचाप बढ्दै जाँदा शरीरले पनि एक चरणसम्म ‘एडप्ट’ गरिदिन्छ । यसैगरी उच्च रक्तचाप देखियो भने प्रायःले अलि–अलि अभ्यास थाल्छन् । खानपान मिलाउँछन् । रक्तचाप ठीक ठाउँमा आउँछ । त्यसपछि ठीक भयो भनेर ढुक्क हुन्छन् । फेरि पुरानै जीवनशैलीमा फर्किन्छन् र उच्च रक्तचापको शिकार हुन्छन्।
उच्च रक्तचाप भएर डाक्टरकहाँ पुग्नेहरु सकेसम्म औषधि खान इन्कार गर्छन् । एक्सरसाइज गर्ने, डाइटिङ मिलाउने आदि दाबी गर्छन् । बिरामी उच्च रक्तचापले समस्या आइसकेपछि डाक्टरकहाँ आउने हुनाले सकेसम्म औषधि, एक्सरसाइज र डायटिङ सँगैसँगै लैजाउन् भन्ने चाहना डाक्टरको हुन्छ । डाक्टरले ‘कन्भिन्स्ड’ गरेपछि मात्रै औषधि खान तयार हुन्छन् । औषधि लेख्दा डाक्टरले निश्चित समयसम्मका लागि लेख्छन् र औषधि सकिनु केही दिनअघि फेरि जँचाउनु भन्छन् । बिरामीले डाक्टरले भनेको मितिसम्म औषधि खान्छन् तर जँचाउन भने आउँदैनन्।
जब पुनः रक्तचापले हान्छ, रिँगटा लाग्छ वा टाउको दुख्छ अनि मात्र डाक्टरको ढोका ढकढक्याउन आइपुग्छन् । त्यो समय बिरामीले औषधि छाडेको केही महिना बितिसकेको हुन्छ । बिरामीको दाबी हुन्छ, ‘तपाईंले भनेको समयसम्मै औषधि खाएको थिएँ ।’
जबकि डाक्टरले तीन महिना मात्रै औषधि खानु भनेको हुँदैन । तीन महिना औषधि खाएर फेरि जँचाउन आउनु, त्यो बेलाको अवस्था अनुसार औषधि घटबढ गर्छु भनेको हुन्छ । कतिले त त्यही समयमा मुटुको समस्या, मस्तिष्कघात र मिर्गाैलाको समस्या झेलिसक्छन् । ज्यान तलमाथि पनि भइसकेको हुन सक्छ । यिनै समस्यामाथि गरिएको अनुसन्धानले ५० देखि ६० प्रतिशतको औषधि खाँदा पनि रक्तचाप नियन्त्रणमा नआउने गरेको देखाएको छ।
यसैगरी, औषधि खाने तर मदिरा र चुरोट नछाड्ने, आफ्नो तौल घटाउन नसक्ने र तनाव नियन्त्रण गर्न नसक्नेलाई पनि औषधिले अपेक्षित फाइदा नपु¥याएको हुन सक्छ ।
व्यक्ति र उसको अवस्था हेरेर औषधि दिने र डोज मिलाइयो भने मात्रै रक्तचाप नियन्त्रणमा आउन सक्छ।
उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्ने हो भने, नसर्ने रोगको प्रकोप आधाभन्दा बढीले घट्छ । तथ्यांकले भन्छ, ‘संसारमा सबैभन्दा बढी उच्च रक्तचापका कारण हुने समस्याबाट मान्छेको मृत्यु भइरहेको छ । उच्च रक्तचापबाट जोगिन यसको पहिचान, नियन्त्रण र रोकथाम आवश्यक हुन्छ । सहरिया जीवनयापन गरिरहेकाको परिवारमा सामान्यतया दुई–तीन जनालाई उच्च रक्तचाप छ। ४० वर्षको उमेरमा रहेका ४० प्रतिशतलाई नै यो समस्या छ । उमेर अनुसार रक्तचाप बढ्दै जान्छ । यस अनुसार भविष्यमा गएर अधिकांसलाई यो समस्या आउनेवाला छ र औषधि नखाई धरै छैन भन्ने बुझे हुन्छ।
त्यसैले रक्तचाप नियन्त्रण गर्ने कुरामा हरेक व्यक्ति सुरुदेखि नै सचेत हुनुपर्छ । हामीले दैनिक खाने गरेको नुनको मात्रा घटाउनु सबैभन्दा प्रभावकारी र पहिलो कदम हुन सक्छ । नुन कम खाँदा मात्रै पनि धेरैलाई असामयिक निधनबाट जोगाउन सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ , डा ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ nepallive