समाचार प्रभाव क्षयरोग केन्द्रमा मन्त्रालयको छड्के, हाजीरकपी नियन्त्रणमा

651

निर्देशक डा.केसी मन्त्रालय तानिँदै
बलराम प्यासी
काठमाडौं । ‘चिकित्सक र कर्मचारी सौराहामा, क्षयरोग केन्द्र सुनसान’ शिर्षकमा ४ पुसमा संवाहक डटकममा छापिएको समाचारलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा छड्के जाँच गरी त्यहाँ हाजीर कपी नियन्त्रणमा लिएको छ ।
पत्रिकामा छापिएको समाचारलाई आधार मानेर मन्त्रालयले यसरी पहिलोपटक छड्के जाँच गरी मातहतको कार्यालयको हाजीरकापी नियन्त्रणमा लिएको मन्त्रालय स्रोतले बतायो ।
मुलुकको एकमात्र वहिरंग सेवा सहितको केन्द्रीय स्तरको क्षयरोग अस्पताल (केन्द्र) मा स्वास्थ्य जाँचको लागि आउने दैनिक दुईसय विरामीलाई वेवास्ता गर्दै सो केन्द्रमा कार्यरत अधिकाँश चिकित्सक र प्रशासनिक कर्मचारी १ पुसदेखि एकहप्तासम्मको भ्रमण आदेश बनाएर चितवनको सौराहा गएपछि त्यसबारेको समाचार संवाहक डटकममा छापिएको थियो ।
सो समाचारलाई आधार मानेर स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.पुष्पा चौधरीले तत्काल सो केन्द्रको छड्के अनुगमनका लागि मन्त्रालयका शाखा अधिकृत घनश्याम पोखरेललाई पठाएकी थिइन ।
अधिकृत पोखरेलले केन्द्रमा कार्यरत चिकित्सक तथा प्रशासनिक कर्मचारीको हाजीरकपी छड्के जाँच गर्दा केन्द्रका निर्देशक डा.केदार नरसिंह केसी सहित चारजना चिकित्सक र ८ जना अधिकृत एकै मितिमा चितवनको सौराहा गएको पाइएको थियो । उनीहरु १ पुसदेखि ६ पुससम्म एकै मितिमा भ्रमण आदेश बनाई सौराहा गएका थिए ।
यसरी केन्द्रलाई सुनसान पारेर एकैदिन सौराहा जानेमा निर्देशक डा.केसी, वरिष्ठ छातीरोग विशेषज्ञ डा.मोहन प्रसाई, डा.नविनप्रकाश शाह, डा.शैलेश श्रेष्ठ, तथ्यांक उपसचिव अनिल थापा, लेखा उपसचिव नारायणप्रसाद दाहाल, मेडिकल टेक्नोलोजिष्ट गोकर्ण घिमीरे र लेखा अधिकृत हरिप्रसाद काफ्ले थिए । त्यसैगरि प्रशासन शाखाकी अधिकृत नमुना कार्की दाहाल सोही मितिमा भ्रमण आदेश बनाई केन्द्रको बजेटमा श्रीमानसहित सौराहा घुम्न पुगेकी थिइन भने अर्की अधिकृत रीता खतिवडा ६ दिनको भ्रमण आदेश स्विकृत गराएर कार्यालयमा हाजीर थिइन ।
मन्त्रालयले हाजीर कपि छड्के गर्दा केन्द्रकी पव्लिक हेल्थ अधिकृत नर्सद्धय कमला वाग्ले र यशोदा राजभण्डारीले पुस ९ को अग्रिम हाजीर गरि १ देखि १५ पुससम्मको १५ दिन लामो भ्रमण आदेश लिएर बुटबल र धनगढी गएको पाइएको थियो ।
त्यतिमात्रै नभई केन्द्रमा कार्यरत अधिकांश तल्लो तहका कर्मचारी र चालकहरु पनि ६ देखि १० दिनको भ्रमण आदेश बनाएर जिल्ला घुम्न गएको मन्त्रालयले छड्केका क्रममा पाएको थियो ।
केन्द्रमा स्वास्थ्य परीक्षणको लागि आएका सेवाग्राहीलाई मर्का पर्ने गरी अधिकाँश चिकित्सक र कर्मचारीलाई एकै समयमा नियम विपरित भ्रमण आदेश दिएको र आफुपनि कार्यालयमा उपस्थित नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले केन्द्रका निर्देशक डा.केदार नरसिंह केसीलाई मन्त्रालयमा हाजीर गराउने तयारी गरेको छ ।
निर्देशक डा.केसीले मन्त्रालयलाई कुनै जानकारी नदिई मंसीरमा ४ दिनमात्रै केन्द्रमा हाजीर भएको र बाँकी २२ दिन गोष्ठी, काज र घरविदामा बसेको पाइएको तथा पुसको पहिलो एकहप्ता मन्त्रालयसंग कुनै समन्वय नगरी ७ दिनसम्म आफ्नो भ्रमण भत्ता आफैंले स्विकृत गराई सौराहा गएको पाएपछि मन्त्रालयले डा.केसीलाई तीनदिनभित्र यसको चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ ।
‘स्वास्थ्य सचिवले पनि एकहप्ताभन्दा बढीको काज या विदा स्विकृत गर्न सक्दैनन, निर्देशक आफैंले सचिवभन्दा आफुलाई ठुलो मानेर आफ्नो र मातहतका अधिकृतहरुको भ्रमण आदेशमा तोक लगाएको पाइएकोले उनलाई किन कारवाही नगर्ने ?’ मन्त्रालय स्रोतले भन्यो ।
केन्द्रका निर्देशकले आफ्नो पक्षका कर्मचारीलाई मनलाग्दो गरि भ्रमण आदेश बनाएर कार्यालयमै बसीबसी भ्रमण र यातायात भत्ता खुवाउँदै केन्द्रको बजेटमा अनियमितता गर्दै आएको कुरा पटकपटक आरोप लाग्दै आएको छ ।

निर्देशक डा.केदार नरसिंह केसी मंसीरमा ४ दिनमात्रै कार्यालय हाजीर । बाँकी दिन गैरकानूनीरुपमा आफ्नो भ्रमण आदेश आफैंले स्विकृत गराई जिल्ला घुम्न व्यस्त ।
१ पुसदेखि एकै मितिमा केन्द्रका निर्देशक सहित ४ चिकित्सक र ८ अधिकृत एकहप्ताको भ्रमण आदेश (टिओ) बनाएर सौराहामा व्यस्त ।
प्रशासन फाँटकी अधिकृत रीता खतिवडा एकहप्ताको भ्रमण आदेश बनाएर कार्यालयमै उपस्थित ।
क्षयरोग केन्द्रको पैसामा अर्की अधिकृत नमुना दाहाल कार्की श्रीमानसहित सौराहामा घुम्दै ।
पव्लिक हेल्थ नर्सद्वय कमला वाग्ले र यशोदा राजभण्डारीले अग्रिम हाजीर गरेको ।
अधिकाँश कार्यालय सहयोगी र सवारी चालकहरुले भ्रमण आदेश लिएतापनि कार्यालय सहयोगी भने कार्यालयमै उपस्थित ।