भक्तपुरमा नारायण गोपाल स्मृति साँझ हुने

304

भक्तपुर । भक्तपुर सांगितिक समाजले भक्तपुरमै पहिलोपल्ट नारायणगोपाल साँझ गर्ने भएको छ ।
समाज गठन भएको पहिलो कार्यक्रमका रुपमा भक्तपुरमा पनि सांगितिक माहोल बन्छ भन्ने देखाउने हेतुले सो साँझ गर्न लागेको आयोजक समाजले जनाएको छ ।
आगामी पुस २२ गते शनिबार भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा हुने सो कार्यक्रमबारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

समाजले भक्तपुर सांगितिक हिसाबले पछि परेको निश्कर्ष निकाल्दै सो स्थितिमा सुधार ल्याउन साँगितिक साँझ गर्न लागेको समाजका कपिल कसपालले बताए ।
‘यहाँ संगीतको औपचारिक पढाइ नहुनु, संगीत अध्ययनमा अभिप्रेरित गर्ने खालको सांगीतिक कार्यक्रम नहुनु र सिक्दै गरेका नयाँ कलाकारहरु पनि आफ्नो कला देखाउने मञ्च नपाउनु हो । भक्तपुर सांगीतिक समाजले यो स्थितिमा सुधार गर्ने जमर्को गरेको छ ।’ उनले भने ।
समाजले सो कार्यक्रमको लागि टिकटको व्यवस्था गरेको छ । प्रति सहभागी रु. एक हजार रुपियाँ निर्धारण गरेको टिकट भक्तपुरका विभिन्न ठाउँबाट पाउन सकिने भएको छ ।

सो कार्यक्रमका लागि आयोजकले रु. ८ लाख खर्च हुने अनुमान गरेको छ । कार्यक्रममा मात्र नारायणगोपालका डेढ दर्जन गीतहरु तथा गायक कर्णदासको पनि प्रस्तुति रहने आयोजकको भनाइ छ ।