अग्रवाल सेवा केन्द्रद्वारा ११३ जना विद्यार्थीलाई छात्रवृति

561

काठमाडौं, । अग्रवाल सेवा केन्द्र ११३ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । काठमाडौंको २३ वटा सामुदायिक उच्च माध्यामिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ११३ जना विद्यार्थीहरलाई छात्रवृति स्वरुप नगद तीन हजार रुपियाँ प्रदान गरेको हो ।

केन्द्रले शनिवार कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगद तीन हजार रुपियाँ छात्रवृति प्रदान गरेको हो । बिगत पाँच वर्षदेखि प्रदान गर्दै आएको सो रकम अहिले यस वर्षलाई पनि निरन्तरता दिएको हो ।

छात्रवृतिको रकम प्रदान गर्दे अग्रवाल सेवा केन्द्रका अध्यक्ष महेशकुमार अग्रवालले सरकारले गर्ने काम निजी क्षेत्रबाट भएकाले यसलाई सबैले सरकात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।

सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो रकम खर्चे पनि उपलब्धी कममात्रा देखिने गरेको चर्चा गर्दै निजी क्षेत्रबाट थोरै रकम विपन्न परिवारका विद्यार्थीलाई प्रदान गर्दा पनि ठूलो राहत पुग्ने बताउनुभयो । उहाँले हरेक निजी क्षेत्रको व्यवस्थापन पक्ष सबल हुँदा नतिजा सकारात्मक हुने गरेकाले सरकारले पनि व्यवस्थापन पक्ष राम्रो गर्ने हो भने नतिजा राम्रो आउने बताउुनभयो ।

भद्र नारी जागरण समितिका अध्यक्ष विष्णुदेवी पुडासैनीले केन्द्रले विद्यार्थीहरुलाई प्रदान गर्दै आएको उच्च सराहना गर्दै यस रकम वार्षिकरुपमा बृद्धि गर्दै जानुपर्ने आवश्यक्ता औंल्याउनुभयो । आफू सामाजिक क्षेत्रमा लागेर विद्यार्थीहरुको सेवा गर्न पाउँदा खुसी लागेको चर्चा गर्दै पुडासैनीले यस पवित्र कार्यमा सबैको साथ र सहयोग रहँदै आएको स्मरण गर्नुभयो ।

कार्यक्रममा केन्द्रको शिक्षा समितिका संयोजक महेन्द्र अग्रवाल र केन्द्रका उपाध्यक्ष गिरीधरी अग्रवालले केन्द्रले निरन्तर सामाजिक काम गर्दै आएको भन्दै विद्यार्थीहरुलाई बिगत पाँच वर्षदेखि छात्रवृति प्रदान गर्दै आएको बताउनुभयो ।

शंखरापुर नगरपालिका स्थित चापाँबोट उच्च माविका प्रधानाध्यापक भानुचन्द्र जोशी र नार्जुन नगरपालिकास्थित सीताराम उच्च माध्यामिक विद्यालयका शिक्षक देवकुमार महत लगायतले अग्रवाल सेवा केन्द्रलाई धन्यवाद प्रदान गर्नुभयो ।

भद्र नारी जागण समितिले विपन्न समुदायका विद्यार्थीहरुको तथ्याङ्क संकलन गरी अग्रवाल सेवा केन्द्रमा सिफारिस गर्ने र सोही सिफारिसको आधारमा केन्द्रले छात्रवृति प्रदान गर्ने गरेको भद्रनारी जागरण समितिका अध्यक्ष विष्णुदेवी पुडासैनीले जानकारी दिनुभयो ।