काठमाडौं । राजधानीको धापासीमा नीजि क्षेत्रबाट सञ्चालित ग्राण्डी इन्टरनेशनल अस्पतालले स्थापनाको चारवर्षको अवधिमा ४ लाख २१ हजार ८४८ विरामीको वहिरंग उपचार गरेको जनाएको छ ।
नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले सो कुरा बताउँदै यस अवधिमा अन्तरंगतर्फ २९ हजार ३१८ विरामीको उपचार गरेको बताए । आकस्मिकतर्फ २४ हजार ६४२ को उपचार भएको र अस्पतालको अत्याधुनिक शल्यक्रिया कक्षबाट १९ हजार ४६८ विरामीको सफल शल्यक्रिया गरिएको जानकारी दिए ।
अस्पतालले यसअवधिमा २ हजार ३१६ जना विदेशी नागरिकको पनि उपचार गरेको, दुर्गम भेगका ६१० जनाको हेलिकोप्टरबाट आकस्मिक उद्धार गरी अस्पतालमा ल्याएर उपचार गरेको पनि जनाएको छ ।
अस्पतालले मुटुमा छुरा रोपिएका विरामीको सफल शल्यक्रियादेखि छिनेका हातका औंलाहरु जोड्ने कामसमेत सफलरुपमा गरिएको जनाएको छ । सो अस्पतालले विभिन्न ३५ थरी रोगको उपचार सेवा दिँदै आएको पनि जनाएको छ ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ग्राण्डी अस्पतालका अध्यक्ष इ.दिपक कुँवरको साथै मेडिकल डाइरेक्टर डा.पाण्डेले गुणस्तरीय स्वास्थय सेवामा ग्राण्डी अस्पतालले दिँदै आएको उपचार सेवालाई आगामी दिनमा अझै परिस्कृत गर्दै लैजाने कुरा बताए ।
कार्यक्रममा सो अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा विशेष योगदान गरेवापत सो अस्पताललाई सन् २०१६ को उत्कृष्ट अस्पतालको रुपमा फस्र्ट सुलिभान एवार्ड २०१६ बाट पुरस्कृत गरिएको थियो ।
अस्पतालको स्थापना दिवसकै अवसरमा बुधबारदेखि सो अस्पताल र ल्होत्से वहुउद्धेश्यीय प्रा.लि.संगको सहकार्यमा ग्वंगबु नयाँबसपार्कमा ग्राण्डी अस्पताल परामर्श र स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । सो केन्द्रले लामो दुरीको यात्रा गरी राजधान्ी छिरेका यात्रुलाई आवश्यक परेको प्राथमिक स्वास्थ्य सेवाको साथै आवश्यक परामर्श समेत दिनेछ ।
काठमाडौं महानरगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो केन्द्रको उद्घाटन गर्दै बुधबारदेखि सञ्चालनमा ल्याएको स्वास्थय केन्द्रबाट वटुवा तथा यात्रुलाई राहत पुग्ने विश्वास व्यक्त गरे । ल्होत्से वहुउद्धेश्यीय प्रालि एवम् ग्राण्डी अस्पतालका अध्यक्ष इ.दिपक कुँवरले स्वास्थय केन्द्रबारे प्रकाश पारेका थिए ।