तपाइँको घरमा बिजुलीको बिल कति उठ्छ ? हरेक महिना बिजुलीको बिल आउँदा तर्सिनु त परेको छैन नि ? एकजना अमेरिकी महिला चाहीँ बिजुलीको बिलका कारण झण्डै मुर्छा परिनन् ।
अमेरिकाको पेन्सिल्भेनियास्थित इरीकी बासिन्दा म्यारी होरोमान्स्कीले घरमा बालेको बिजुलीको झण्डै ३ खर्ब डलर बराबरको बिल आएपछि झसँग भइन् ।
बिजुलीको महशुल २ खर्ब ८४ अर्ब ४६ करोड डलर रहेको र उक्त रकम आगामी नोभेम्बर महिनासम्ममा तिर्नुपर्ने भनी बिजुली अड्डाबाट घरमा चिठी आएपछि उनी झण्डै ढलिनन् ।
‘बिल हेर्दा त मेरा आँखा झण्डै टाउकोबाट फुस्किएका । कतै हामीले क्रिसमस लाईट गलत ढंगले त बालेनौं भन्ने पो लाग्यो मलाई’, उनले भनिन् । तर धन्न उनको नाउँमा आएको त्यो बिलको रकम बिजुली अड्डाको गल्तीका कारण आएको थियो ।
वास्तवमा उनको बिजुलीको बिल जम्मा २ सय ८४ डलर ४६ सेन्टमात्र थियो । बिजुली अफिसले पछि भूलसुधार गरी त्यस्तो जानकारी गराएपछि मात्र उनको स्वास आयो ।
बिजुली अड्डाका प्रवक्ताले भुलबस खर्ब डलरको बिल उपभोक्ताकोमा पुगेको भन्दै गल्ती औंल्याइदिएकोमा धन्यवाद दिए । आफूले यसअघिसम्म कहिल्यैपनि त्यस्तो खर्ब डलरको बिजुलीको बिल देख्दा पनि नदेखेको र पहिलोपटक यस्तो घटना भएको उनले बताइन् । बीबीसी